समाचारआइतबार, कार्तिक २३, २०७१
चार दलको पत्रकार सम्मेलनः कोइरालाले भने, ‘प्रचण्डजी थर्काउने काम छोड्नुस’
२४ कात्तिकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन शक्ति पार्टी (विश्वेन्द्र पासवान) र स्वतन्त्र सभासदद्वय अतहर कमाल मुसलमान र चन्द्रेश्वर झाले संयुक्त पत्रकार सम्मेलन गरी नयाँ संविधानमा राज्यको पुनर्संरचना, न्याय प्रणाली, शासकीय प्रणाली र निर्वाचन प्रणाली बारेको साझा अवधारणा सार्वजनिक गरेका छन् ।
१. राज्यको पुनर्संरचना
सात प्रदेश बनाइने, प्रदेशको नाम प्रदेशसभाले परिवर्तन गर्न सक्ने ।
२. शासकीय स्वरुप
संसदबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिने । संसदप्रति उत्तरदायी कार्यकारी प्रधानमन्त्री हुने । दुई वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वसको प्रस्ताव दर्ता गर्न नपाउने । दुई वर्षपछि अविश्वासको प्रस्ताव ल्याउनु परेमा वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवारसहित त्यस्तो प्रस्ताव दर्ता गराउनु पर्ने ।
३. निर्वाचन प्रणाली
तल्लो सदन (प्रतिनिधिसभा) प्रत्यक्ष निर्वाचित १६५ सदस्यीय हुने । उम्मेदवारी दिंदा समावेशी सिद्धान्त अपनाइने ।
माथिल्लो सदन (राष्ट्रियसभा) पूर्ण समानुपातिक प्रणालीबाट निर्वाचित ७५ सदस्यीय हुने ।
४. न्याय प्रणाली
प्रदेशहरुबीचको विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राजनीतिक संयन्त्र रहने र सर्वोच्च अदालतमा संवैधानिक इजलाश रहने ।
सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्यता हुने । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको व्यवस्था हुने । न्यायपरिषदको व्यवस्था हुने ।
‘प्रचण्डजी नथर्काउनुस’
पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिंदै प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले सहमतिको वाधक एमाओवादी भएको बताए । उनले अन्तिम समयसम्म सहमतिको प्रयास गरिने तर, एमाओवादी अध्यक्ष दाहालको बोलीको ठेगान नभएको आरोप लगाए ।
“एकातिर सहमति सहमति भन्दै गर्ने तर, सहमति नगर्ने अर्कोतिर बाहिर बाहिर सभा गर्दै थर्काउने काम प्रचण्डजीले गरिरहनुभएको छ,” उनले भने, “सहमतिमा आउनुस प्रचण्डजी अब थर्काउनु छोड्नुस ।”
यद्दपी कोइरालाले सहमतिमै ८ माघभित्र संविधान जारी हुने दाबी गरे ।
जनताले स्थायित्व र विकास चाहेको र अव कसैले पनि संघर्ष र आन्दोलन नचाहेको भन्दै संविधान निर्माण गरी विकासका लागि हातेमालो गर्न कोइरालाले सबैलाई आग्रह गरेका थिए ।
सम्मेलनमा कांग्रेस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेका तर्फबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहरा, बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान र स्वतन्त्र सभासदद्वय अतहर कमाल मुसलमान र चन्द्रेश्वर झा लगायतको सहभागिता थियो ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ:





