समाचारमंगलबार, कार्तिक २५, २०७१
सार्क सम्मेलनमा सुरक्षाको कमी हुँदैनः गृहमन्त्री
प्रधानमन्त्री सुशील कोइराला संयोजकत्वको सम्मेलन आयोजक समितिको २५ कात्तिकमा बसेको बैठकमा गृहमन्त्री गौतमले सुरक्षा व्यवस्था तयारी भइसकेको जनाएका हुन् । समितिले व्यवस्थापन, आर्थिक, सुरक्षालगायतको तयारीबारे समीक्षा गरेको थियो ।
अधिकांश तयारी भइसकेको र बाँकी तयारी कात्तिक मसान्तभित्र हुने जनाइएको छ । बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनमा सदस्य मुलुक र पर्यवेक्षकलाई निमन्त्रणा पुगिसकेको जानकारी गराए ।
मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट पाहुनाले नेपालका धार्मिकस्थलको भ्रमण गर्ने कार्य तालिका बनेको बताए ।
एक अर्ब निकासा
सरकारले सम्मेलन तयारीको गर्न एक अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्री डा.रामशरण महतका अनुसार कार्य सम्पन्न भइसकेको भुक्तानी दिन अव ३४ करोड बाँकी छ ।
सम्मेलनका लागि सरकारले एक अर्ब ५१ करोड विनियोजन गरेको थियो ।
