समाचारमंगलबार, कार्तिक २५, २०७१
नेपालमा जलमार्ग प्रयोगबारे भारतीय प्रस्ताव
नेपाल भ्रमणमा रहेका भारतका सडक तथा यातायात मन्त्री नितिन गडकरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिसँगको भेटमा नेपालमा जलमार्ग प्रयोगकाबारेमा प्रस्ताव राखेका छन् ।
“भारतकोे जलमार्ग प्रयोगको अनुभव नेपाललाई बाँड्न र आवश्यक सहयोग गर्नसमेत भारत तयार रहेको गडकरीले भन्नुभएको छ,” भेटपछि मन्त्री निधिले भने ।
दुइ देशबीच मोटर तथा रेलमार्गको तुलनामा जलमार्गबाट झण्डै आधा खर्च कम लाग्ने गरेको अनुभव भारतीय पक्षले भेटमा सुनाएको थियो ।
नेपालभित्रै तथा नेपाल र भारतबीच पनि जलमार्गको प्रयोग गर्न सकिनेबारेको प्रस्तावप्रति आफू उत्साहित भएको मन्त्री निधिले बताए ।
भेटमा नेपालको तराई क्षेत्रमा भारत सरकारको सहयोगमा सञ्चालित हुलाकी सडकको प्रथम र दोस्रो चरणको विस्तारमा भइरहेको ढिलाइबारे आफूले ध्यानाकर्षण गराएको मन्त्री निधिले जानकारी गराएका थिए ।
जवाफमा भारतीय मन्त्री गडकरीले आफू भारत फर्किएलगत्तै सो सडक विस्तार कार्य अगाडि बढाउन पहल गर्ने बताएको पनि उनले जानकारी दिए ।
गडकरीले आफूसँगै रहेका भारतका सडक विभाग निर्देशकलाई समेत सो सडक निर्माणबारे छिटो निर्णय गर्न निर्देशन दिएका थिए ।
भेटमा पूर्व–पश्चिम रेलमार्ग र महाकाली नदीमा पुल निर्माणबारेमा पनि छलफल भएको मन्त्री निधिले जानकारी दिएका छन् ।
