समाचारबुधबार, कार्तिक २६, २०७१
संविधान निर्माणमा आशंका नगरौंः प्रधानमन्त्री
नेपाल पत्रकार महासङ्घको विशेष अभियान अन्तर्गत प्रधानमन्त्री निवास बालुवाटार पुगेको महासङ्घको टोलीलाई प्रधानमन्त्रीले संविधान निर्माणमा गम्भीर हुन दलहरुलाई आग्रह गरे । उनले भने, ‘‘सहमति, सहकार्य र एकताबाटै अघि बढ्न चाहेको र त्यसमा पत्रकार महासङ्घलगायत समग्र प्रेस जगतको सकारात्मक भूमिकाको अपेक्षा गर्छ ।’’
महासङ्घ अध्यक्ष डा.महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पत्रकारिताको पेशागत मुद्दाको सन्दर्भमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, दक्षता अभिवृद्धिको लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, बिमा सुविधा, द्वन्द्वपीडित पत्रकार कल्याण कोषको स्थापनालगायतका विषयको विस्तृत अवधारणासहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।
