थप समाचारबुधबार, कार्तिक २६, २०७१

महिनावारी लज्जाको आर्थिक प्रभाव

हिमालखबर

 

महिनावारीका बारे किशोरीहरुलाई शिक्षा दिएपछि उनीहरु स्कुल जाने क्रम बढेको छ । तस्वीर: रोबर्टसन

महिनावारीका बारे किशोरीहरुलाई शिक्षा दिएपछि उनीहरु स्कुल जाने क्रम बढेको छ । तस्वीर: रोबर्टसन

“महिनावारीका बेला पहिले त घरभित्र पस्न पाइँदैनथ्यो,” गोर्खाकी १२ वर्षीया सुशीला भन्छिन, “अहिले भने आफ्नै ओछ्यानमा सुत्न पाइन्छ, यसबारे हामी खुला हुनु जरुरी छ ।”

पहिलो पटक महिनावारी भएपछि सुशीला ११ दिनसम्म स्कुल गइनन् । उनलाई किताब छुन पनि दिइएन । किशोरी शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको संस्था ‘हर टर्न’ ले नेपालको मध्य र पश्चिमाञ्चलका केही विद्यालयहरुमा गरेको अध्ययन अनुसार ९५ प्रतिशत किशोरीको अवस्था सुशीलाको भन्दा फरक छैन । महिनावारी भएका अधिकांश किशोरीहरु विद्यालय जाँदैनन्, कतिपय त चार दिनसम्म घरबाहिरको छाप्रोमा एक्लै बस्नु पर्ने वाध्यता छ, जहाँ उनीहरुले पढ्न पाउँदैनन् ।

महिनावारीले विश्वभर नै शिक्षामा किशोरीहरुको पहुँचमा प्रभाव पारेको छ । सियरालियोनमा २० प्रतिशत किशोरीहरु महिनावारी भएका बेला विद्यालय जाँदैनन् भने अफ्गानिस्तान र नेपालमा यो संख्या ३० प्रतिशत छ । भारतमा एकचौथाई किशोरीहरु महिनाबारीका ५ दिनसम्म विद्यालय जाँदैनन् ।

महिनावारी भएका बेला विद्यालय नजानुको प्रमुख कारण त विद्यालयमा शौचालयको व्यवस्था नहुनु हो । भएका अधिकांश विद्यालयमा महिलाका लागि वेग्लै र सुरक्षित शौचालय हुँदैन । विश्वका कम विकसित मुलुकका ४५ प्रतिशत विद्यालयमा मात्रै शौचालयको सुविधा छ । नाइजेरियामा ६०० विद्यार्थी बराबर एउटा शौचालय छ ।

अर्को कारण महिनाबारीलाई ‘नछुने’ ठान्ने सामाजिक अन्धविश्वास, श्राव रोक्ने सामाग्रीको अपर्याप्तताले गर्दा श्राव देखिन्छ कि भन्ने डर, लज्जा र अज्ञानताले पनि किशोरीहरु विद्यालय जानबाट वञ्चित हुन्छन् ।

महिनावारीका बेला किशोरीको पढाईमा हुने यो समस्याले गर्दा सम्पूर्ण समुदायमै नकारात्मक प्रभाव परिरहेको छ ।

किशोरी शिक्षित भएपछि बालविवाह रोकिन्छ, उसले धेरै बच्चा जन्माउँदिन र बच्चाको स्याहार र शिक्षामा राम्रो ध्यान पु¥याउन सक्ने हुन्छे भने उसमाथि हिंसाको सम्भावना पनि कम हुन्छ ।

यसले गर्दा किशोरी र महिलामात्रै लाभान्वित हुँदैनन् । महिनावारीका बेला आउने यस्ता समस्यालाई राम्रो व्यवस्थापन गर्न सकियो भने समाज र राष्ट्रिय अर्थतन्त्रमा समेत त्यसको सकारात्मक प्रभाव पर्छ ।

माध्यमिक तहको शिक्षा प्राप्त गर्ने महिलाहरुको संख्या १ प्रतिशतमात्रै वृद्धि हुँदा देशको वार्षिक प्रतिव्यक्ति आय ०.३ प्रतिशतले वृद्धि हुन्छ । युवा र युवती बीचको वेरोजगारीको अन्तर हटाउन सक्ने हो भने कुल गाहस्र्थ उत्पादनमा १.२ प्रतिशतसम्म वृद्धि हुन्छ ।

समग्रमा किशोरी शिक्षाले महिलाको स्वास्थ्य, सुरक्षा र आजिविकामा महत्वपूर्ण प्रभाव पार्छ ।

‘हर टर्न’ ले चलाएको खुल्ला बहसमा गोर्खाका एक प्राधानाध्यापकले आफ्नो २४ वर्षको अध्यापन अवधिमा बालिका–किशोरीमाथि हुने यौन दुव्र्यवहार, धम्की र महिनवारीका समस्याबारे विद्यार्थीहरुसँग औपचारिक कुरा नगरेको पछुतो मान्दै सुनाए । उनले भने, “अब यस्ता समस्या बारे म विद्यालयमा खुल्ला बहस चलाउनेछु ।”

परम्परागत समाजमा यस्ता निकै चुनौतीहरु छन् । ‘नछुने व्यवहार’ सिकाउने र स्थापित गर्ने महिलाहरु नै हुन्छन् । ‘हर टर्न’ कै एक जना प्रशिक्षक किशोरीले महिनवारीका बेला आफूले पनि बार्ने गरेको बताउँदै भन्छिन्, “त्यसो गरिन भने हाम्रो परिवार नै समाजबाट बहिस्कृत हुन्छ ।”

सामाजिक मान्यतामा परिवर्तन गर्नु निकै गाह्रो काम हो, महिनावारी पनि अपवाद हुन सक्दैन । तर, सुशीलाजस्ता किशोरीहरु परिवर्तनका संवाहक बन्दैछन् ।

नेपालमा काम गर्दाको अनुभवमा हामीले के पनि बुझ्यौं भने यस्तो अन्धविश्वस हटाएर समाजलाई अघि बढाउन किशोर–युवाको सहभागिता पनि उत्तिकै चाहिन्छ ।
सामान्य शारीरिक प्रक्रियालाई पनि लज्जास्पद रहस्य ठान्ने विभेदयुक्त सामाजिक मान्यतामा परिवर्तन ल्याउन संभावित सबै उपायहरु अपनाउनु जरुरी छ, जसले देशकै विकासमा महत्वपूर्ण अर्थं राख्छ ।

‘हर टर्न’ की कार्यक्रम व्यवस्थापक ओला पर्जेन्स्का र संयोजक डेनिएल प्राइसले गार्जियनमा लेखेको लेखको अंश ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>