थप समाचारशुक्रबार, कार्तिक २८, २०७१
सहयोगको पर्खाइमा द्वन्द्वका घाइते
– गोपाल गडतौला, झापा

१७ कात्तिकमा इटहरीमा गठन गरिएको पूर्वाञ्चलका द्वन्द्वपीडितहरुको साझा चौतारी। तस्वीरहरुः गोपाल गडतौला
आमा टंककुमारीसँगै अपहरणमा परेकी कृष्णकुमारी घिमिरे (३९) लाई माओवादीले तीन दिनसम्म हातखुट्टा बाँधेर पिटे। चौथो दिन २५ वैशाख २०६१ को दिउँसो उनलाई तोपगाछीको बैगुनधुरा बजार पुर्याइयो। बीच बजारमा दुवै हात बाँधेर घोप्टो पारेर लडाई पछाडिबाट बटारेर देब्रे हात भाँचियो। त्यसपछि उपचार नगर्न चेतावनी दिएर हिंडेका माओवादीहरूले उनकी ५९ वर्षीया आमा टंककुमारीलाई भने त्यही दिउँसो तोपगाछीको किस्नीघाटछेउ बीच सडकमै घाँटी रेटेर हत्या गरे। माओवादीले आमाछोरीलाई २० वैशाखमा घरनजिकै रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी बुहारी कमलाको हत्याको आरोप लगाउँदै अपहरण गरेका थिए।
कृष्णकुमारीलाई एक सातापछि सेनाले उद्धार गरेर दमक ल्याएपछि उपचार भए पनि ढीलो भएकाले भाँचिएको हात सोझिएन। त्यसबेला ‘हत्यारालाई कारबाही’ भन्दै बूट लगाएका माओवादीहरूले ढाडमा बेस्सरी कुल्चिएकाले अहिले पनि उनको ढाड दुखिरहन्छ। बुहारी मारेको झूटो आरोपमा त्यस्तो अन्याय सहेकी कृष्णकुमारी अहिले गुजाराका निम्ति विराटनगरको जुट मीलमा काम गर्छिन्। द्वन्द्वका घाइतेको सूचीमा नाम नभएकी उनी भन्छिन्, “सोध्न कोही आएनन्, कहाँ गएर सुनाउने भन्ने पनि थाहा भएन।”
नाम छुट्ने धेरै
बुधबारे, झापाको तीनतले सामुदायिक वन समितिका सचिव रुद्र पोखरेल (५०) लाई माओवादीले भ्रष्टाचार गरेको आरोप लगाउँदै ९ फागुन २०५८ साँझ् घरनजिकबाट अपहरण गरे। तीन रात हिंडाउँदा उनी कैयौंपटक ढुंगामा बजारिए। त्यहींबाट ढाड र कम्मर दुख्ने बिमारी शुरू भएका उनी अहिले खनजोत गर्न सक्दैनन्। उनको पनि नाम द्वन्द्वका घाइतेको सूचीमा छैन।
झापाको मेचीनगर–८ का एलबी सुब्बा (३३) एसएलसी सकेर १८ वर्षको उमेरमा २०५६ सालमै माओवादी मिलिसिया बने। सीमा नजिक भएकाले भारतको बागडोगरा इलाकाबारे राम्रो ज्ञान भएका उनलाई माओवादीले भारतीय तस्करमार्फत हतियार भित्र्याउने काममा खटायो। त्यो बेला एउटा एके–४७ राइफल साढे चार लाख रुपैयाँसम्ममा किनेको, दुई सयभन्दा बढी बन्दूक र तिनका गोलीगट्ठा राँगागाडीमा लोड गरेर ल्याएको बताउने उनी ११ वैशाख २०६१ मा बागडोगरामै समातिए।
त्यसपछि धरौटी र वकील शुल्क गरी साढे तीनलाख खर्चमा तीन महीनामा छुटेर पार्टीमा फर्केका उनलाई लडाईंका क्रममा तिघ्रामा चार गोली लाग्यो। उपचार गर्न अस्पताल जाने अवस्था नहुँदा चक्कुको टुप्पाले गोलीहरू निकालेर बाँचेका उनी अहिले सुँगुर पालेर गुजारा गरिरहेका छन्। “युद्धबाट जीवनमा निराशा मात्र पाइयो”, एलबी भन्छन्, “द्वन्द्वपीडितको सूचीमा पनि परिएन।”
एलबीसँगै लडाईंमा हिंडेका इलाम इरौटारका हरि थापा (३९) को शरीर चिसोमा दुख्छ, गर्मीमा पोल्छ। शान्ति मन्त्रालयबाट सहयोग पाउने द्वन्द्वका घाइतेहरूको सूचीमा नाम नभएका थापाले जसोतसो शरीरबाट १२ वटा छर्रा निकाले। बाँकी ६८ वटा छर्रा झिक्न अस्पताल जाने पैसा उनीसँग छैन। “युवा उमेरको सात वर्ष खेर गयो” गुजाराका लागि बाख्रा पालेका हरि भन्छन्, “पार्टीको आदेशमा मान्छेको कन्चटमै गोली हानेका घटना सम्झ्ँदा अहिले विरक्त लाग्छ।”
द्वन्द्वका घाइते र अंगभंग भएकालाई आर्थिक सहयोग दिने सरकारी नीति अनुसार झापाका ३४ जनाले उपचार खर्च पाएका छन्। जिल्ला शान्ति समितिले थप १५ जनाको सूची शान्ति मन्त्रालयमा पठाएको एक वर्ष भयो, तर सहयोगको अत्तोपत्तो छैन। पाउने थोरैले पाइहाले, पाउने सूचीमा परेकाहरू पर्खिरहेका छन् र पाउने सूचीमा नामै नपरेका पीडितहरूले पनि बेहाल भएर सरकारी सहायता पर्खिरहेका छन्। “आफ्नै सरकार हो, ढीलै भए पनि सम्झेला भनेर आशा गर्नुभन्दा अर्को उपाय पनि छैन”, कृष्णकुमारी घिमिरे भन्छिन्।
पीडितको साझा चौतारी
कमला लुइँटेललाई माओवादी नियन्त्रणमा रहँदाको डेढ वर्ष र त्यसपछि शान्ति सम्झौता नहुन्जेलको तीन वर्ष सम्झदा ऐंठन हुन्छ। माओवादीले मोरङको टाँडीस्थित घरबाट ६ मंसीर २०५८ मा अपहरण गरेर कमलाको कम्मरमा ग्रिनेड भिराइदिंदा उनी एसएलसी परीक्षाको तयारीमा थिइन्।
त्यसपछि सेनाले मार्ने भय देखाएर माओवादीले उनलाई बम भरिएका झोला बोकाउँदै हिंडाए। अपहरणमा परेको डेढ वर्षपछि खुट्टामा चोट लागेर उपचारका लागि मोरङको उर्लाबारी आउँदा २ माघ २०५९ मा उनी भागिन्। “त्यसपछिको तीन वर्ष आफन्तहरूकोमा लुक्दै बिताएँ”, कमला भन्छिन्।
त्यसपछि पढाइ शुरू गरेकी उनी अहिले स्नातक तहमा पढ्छिन् र द्वन्द्वपीडित समाजमा सक्रिय छिन्। अब द्वन्द्वपीडितको साझा चौतारी बनाउन लागिरहेकी कमला त्यसबेला दुवै पक्षबाट पीडित भएकाहरूले न्याय पाउनै पर्ने बताउँछिन्। ‘जनयुद्ध’ को नाममा छोरो गुमाएका हृदयनाथ घिमिरे (७२) पनि कमला जस्तै द्वन्द्वपीडितको साझा चौतारी आवश्यक देख्छन्। २७ असोज २०५७ को राति प्रहरीले घरबाटै समातेर लगेको छोरो जीवनको शव ११ जेठ २०६२ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझेका उनी अहिले द्वन्द्वपीडितहरूका भेलामा पुगिरहन्छन्। “सन्तानको फलिफाप भएको सुन्नुपर्ने उमेर रोएर बिताउनुपरेको छ”, उनी भन्छन्, “दुवै पक्षबाट दुःख भोगेकाहरूलाई सरकारले समान व्यवहार गर्नुपर्छ।”
कमला लुइँटेल र हृदयनाथ घिमिरेले द्वन्द्वपीडितहरू धेरै समूहमा बाँडिएकोले राज्यलाई आफ्नो दायित्वबाट पन्छिन सजिलो भएको अनुभव गरेका छन्। हुन पनि, सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौतापछि द्वन्द्वपीडितहरूको बेपत्ता परिवार समाज, न्यायका लागि द्वन्द्वपीडित समाज, द्वन्द्वपीडित राष्ट्रिय समाज, टुहुरा बालबालिका समाज, राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज लगायत संस्था खुलेका छन्, द्वन्द्वपीडितहरू सरकारको लगतबाटै छुटेका छन्।
बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रहेका रुपेश साह पनि त्यो अवस्था हटाउन साझा चौतारीको अवधारणा ल्याएको बताउँछन्। साहका दाजु जयकुमारलाई १४ जेठ २०५९ मा सुरक्षाफौजले सुनसरीको बकलौरीबाट बेपत्ता बनाएको थियो।
साझा चौतारीमा माओवादी द्वन्द्वपछि तराईमा फैलिएको हिंसाका पीडितहरू पनि समावेश हुँदैछन्। तिनैमध्येकी एक हुन्, सप्तरीकी कविता ठाकुर। उनका पति दशरथलाई २९ जेठ २०६४ मा तराई जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले घरबाटै अपहरण गरी हत्या गरे। कविता अहिले राजविराजको सगरमाथा अञ्चल अस्पतालमा दैनिक ज्यालादारी गरी दुई सन्तान र सासू पालिरहेकी छन्। १७ कात्तिकमा सुनसरीको इटहरीमा पूर्वाञ्चलका द्वन्द्वपीडितहरूको भेलामा आएकी उनले जुनसुकै पक्षबाट मारिएका वा बेपत्ता पारिएकाको परिवार भए पनि सरकारबाट समान न्याय हुनुपर्ने बताइन्। “यसको लागि सबै पीडित एउटै छातामुनि अटाउनुपर्छ”, कविताले भनिन्।
प्रस्तावित साझा चौतारीको अवधारणा न्याय र परिपूरणसँग जोडिएको छ। चौतारीको अवधारणा निर्माणमा संलग्न लमजुङका सुमन अधिकारी पीडितलाई न्याय दिन र गरिखान मद्दत गर्नु राज्यको दायित्व भएको बताउँछन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट





