समाचारशनिबार, कार्तिक २९, २०७१
चन्द पार्टी फुटाउन अग्रसर रहेको वैद्य पक्षको निष्कर्ष
सचिव नेत्रविक्रम चन्द पक्षधरको सहभागिता बिनानै पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा २९ कात्तिकदेखि शुरु भएको नेकपा–माओवादीको बैठकमा सचिव चन्द पार्टी फुटाउने उद्देश्यसहित अगाडि बढेको ठहरसहित कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित रह्यो ।
सचिव चन्द पक्षले पार्टी अनुशासन विपरीतका कार्य अगाडि बढाएको विषयमा बैठकमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
उनले भनिन्, “भेला रोकेर छलफलमा आउन पोलिटब्युरो बैठकले गरेको आग्रह लत्याउँदै उहाँहरुले भेला आयोजना गर्नुभयो, त्यसले उहाँहरुको नियत के हो भन्ने प्रश्न उब्जिएको छ ।”
बैठकमा अहिलेको आवश्यकता एकता भएको ठहरसहित रुपान्तरण भएर पार्टी एकताबद्ध गर्न आग्रह गर्ने सहमति भएको भुसालले जानकारी दिइन् ।
बैठकमा अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सल्लाहकार समितिका अध्यक्ष कृष्णदास श्रेष्ठ, केन्द्रीय सदस्य सूर्य सुवेदी, मायाप्रसाद शर्मा, श्रीनाथ अधिकारी, दिलीप प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्ने क्रम जारी रहेकाले ३० कात्तिक बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता भुसालले बताइन् ।
बैठकमा संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको सहभागिता थियो भने सचिव चन्दको पक्षका १० जना केन्द्रीय सदस्यको उपस्थित रहेको थियो ।
पार्टी विवाद अन्त्यका लागि भन्दै माओवादीले पूर्ण केन्द्रीय समितिको बैठक र ६ मङ्सिरमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेतको उपस्थित रहने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।
