समाचारशनिबार, कार्तिक २९, २०७१
बाबुराम हटे अर्को सभापति बनाउछौंः शेखर कोइराला
विराटनागरमा २९ माघमा तरुणदलले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सभासद् शेखर कोइरालाले ८ माघभित्र संविधान जारी गर्नका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिबाट एमाओवादी नेता बाबुराम भट्टराई हटे पनि कांग्रेस–एमालेले अर्को सभापति बनाएर अघि बढ्नु जरुरी रहेको बताएका छन् ।
कांग्रेस-एमालेको संविधान निर्माणसम्बन्धी साझा प्रस्ताव मान्य नहुने भन्दै एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालले समितिको सभापतिबाट बाबुरामलाई हटाएर अघि बढ्न कांग्रेस र एमालेलाई चुनाैती दिएको सन्दर्भमा कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।
कोइरालाले ८ माघमा संविधान ल्याउन नसके जातीय र धार्मिक द्वन्द्व चर्किने खतरा रहेको दाबी गरे ।
उनले भने, “केही समययता फेरि दुई छिमेकीसँगै धेरै विदेशी शक्तिहरूको चलखेल नेपालमा बढेको छ, यदि यो समयमा कम्तीमा पनि संविधानको मस्यौदा आएन भने देशमा धार्मिक र जातीय द्वन्द्व निम्तिने छ ।”
कोइरालाले पद्मरत्न तुलाधर देशमा जातीय द्वन्द्व झोस्न सक्रिय रहेको आरोप लगाए । उनले एनजिओ चलाएर बसेका तुलाधरलाई कहाँबाट फन्ड आउँछ आफूलाई थाहा भएको भन्दै विदेशीको पैसा खाएर जनजातिका नाममा जातीय द्वन्द्व बढाउन खोजेको अारोप लगाएका थिए ।
