समाचारबुधबार, मंसिर ३, २०७१
विश्वकप हात्ती पोलो बर्दियामा

बर्दियामा ३ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा हात्ती पोलो बारे जानकारी दिंदै आयोजक । तस्वीर: भावुक योगी
विगत ३३ बर्षदेखि चितवनको मेघौलीमा हुँदै आएको विश्वकप हात्ती पोलो प्रतियोगिता चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाईगरटप्स होटल नविकरण नभएपछि बर्दियाको ठाकुरद्वारामा हुन लागेको हो ।
बर्दिया राष्टिय निकुञ्जसँगै जोडिएको बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा रहेको कर्णाली लज एवं टाइगर टप्स होटलको आयोजनामा यस वर्ष ३३ औं विश्वकप हात्ती पोलो प्रतियोगिता ८ देखि १२ मंसीरसम्म हुने भएको हो ।
५ दिन सम्म चल्ने प्रतियोगितामा नेपाल, थाइल्याण्ड, इंगल्याण्ड, स्विजरल्याण्ड, नर्वे लगायत ८ देशका टोलीको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ ।
सन् १९८२ देखि टाइगर टप्सले चितवनमा आयोजना गर्दै आएको हात्तीपोलो प्रतियोगिता चार वर्षअघि पनि चितवन निकुञ्जभित्र रहेका होटलको म्याद थप्ने नथप्ने विषयको टुङगो नलाग्दा बर्दियामै आयोजना गरिएको थियो ।
सन् १९८१ मा परीक्षण खेलपछि १९८२ देखि नेपालमा टाइगर टप्स कर्णाली लज होटलका सञ्चालक जिम एडवर्डले विश्वमै पहिलो पटक नेपालमा यो खेलको शुरुवात गरेका हुन् ।
३ दिनसम्म लिग चरण अन्र्तगतको खेल भएपछि २ दिन नकआउट चरणको खेल हुने टाईगर टप्सका प्रशासकीय प्रबन्धक रामसिं गुरुङले बताए ।
भावुक योगी, बर्दिया

