समाचारबुधबार, मंसिर ३, २०७१
संविधान निर्माणमा एमाओवादी बाधकः ओली
२ मंसीर दिउँसो दमक–६ स्थित ढुकुरपानी उच्चमाविमा आयोजित कार्यक्रमलाईसम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र एमालेलगायतका दलहरू सहमतिमै नयाँ संविधान ल्याउन प्रतिबद्ध भए पनि एमाओवादी भने भाँजो हाल्ने काममा लागेको आरोप लगाएका छन् ।
उनले भने, “हामी कुनै पनि हालतमा माघ ८ मा नै लोकतान्त्रिक जारी गर्छौं ।”
सहमति नभए विधिवत् प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
एमाओवादी लगायतका केही दल माघ ८ मा संविधान जारी गर्न नदिने षड्यन्त्रमा लागेको बताउँदै उनले सधैं मुलुक सङ्क्रमणमा बस्न नसक्ने बताए ।
एमाले थोरै प्रदेशको पक्षमा र देश टुक्र्याउने कार्यको विरोधमा उभिएको बताउँदै ओलीले विकास र मुलुकको अग्रगमनका लागि पनि सहमति र संवाद आवश्यक रहेकोमा जोड दिए ।
‘अब देशले हिंसा थेग्दैन’
यसैबीच, झापाको दमक–१४ स्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना एक कार्यक्रममा सहभागी भएका ओलीले क्रान्ति र परिवर्तनका नाममा अब देशले हिंसा थेग्न नसक्ने बताए ।
उनले हिंसाको बाटोमा हिंडेका सबैलाई शान्ति र सहिष्णुताको बाटोमा आउन पनि आग्रह गरे ।
