समाचारबुधबार, मंसिर ३, २०७१
भारत र पाकिस्तानका प्रधानमन्त्रीले आफू चढ्ने गाडी आफैं ल्याउने
सार्क मुलुकका राष्ट्र प्रमुख/सरकार प्रमुख चढ्न बुलेट प्रुफ गाडी र अन्य परराष्ट्र मन्त्रीसहित विशिष्ट पदाधिकारीका लागि सुविधायुक्त मर्सिडिज बेन्ज तथा बिएमडब्लु गाडीको व्यवस्था गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारी जानकारी दिएका छन् ।
नेपालका प्रधानमन्त्रीको आफ्नै बुलेट प्रुफ गाडी रहेको तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफू चढ्ने गाडी आफ्नै साथमा ल्याउने जानकारी गराइसकेकाले बुलेट प्रुफ गाडी ६ वटा मात्र ल्याइएको मन्त्रालयले बताएको छ ।
अतिविशिष्ट पाहुनाको सुरक्षा र सुविधालाई ध्यानमा राखेर मन्त्रालयले ६ वटा बुलेट प्रुफ गाडी भारत सरकारको सहयोगमा सार्क सम्मेलनपछि फिर्ता गर्ने गरी र ३२ वटा मर्सिडिज बेन्ज तथा बिएमडब्लु गाडी भारतबाटै सार्क अवधिभर प्रत्येकको दैनिक रु ३५ हजारका दरले भाडा तिर्ने गरी ल्याइसकेको छ ।
यसबाहेक अपुग हुने थप २० थान सुविधायुक्त गाडी मन्त्रालयले खरिद गरिसकेको र बुधबार २ मंसीरमा राजधानी पुगिसकेको प्रवक्ता अधिकारीले बताए ।
त्यसैगरी, सरकारले सार्क सम्मेलनमा अतिविशिष्ट अतिथिहरूको आवास र खानपिनका लागि पनि विशेष सुरक्षा प्रबन्ध गरेको छ ।
सार्क मुलुकका सबै राष्ट्र प्रमुख/सरकार प्रमुखको आवास होटल सोल्टीमा गरिएको छ भने खानपिनका लागिसमेत छुट्टै सुरक्षा टोली बनाइनुका साथै खाद्य तथा गुणस्तर विभागका प्रतिनिधिले परीक्षण गरेपछि मात्र अतिथिलाई भोजन गर्न दिइनेछ ।
होटल सोल्टीमा सार्क सम्मेलन उद्घाटनअगावै सुरक्षा कमान्ड पोस्ट खडा गरी र हरेक दिन होटलभित्र र बाहिर आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न घेरामा सुरक्षा दिने मन्त्रालयले बताएको छ ।
अठारौँ सार्क शिखर सम्मेलन नेपालमा गर्ने मिति दुई वर्षअघि नै तय भएपनि कार्यक्रम गर्ने मितिबारे भने सरकारले ढिला निर्णय गरेको कारण पूर्वाधार निर्माण तथा अन्य तयारीमा हतारो भएको बताइएको छ ।
