समाचारबुधबार, मंसिर ३, २०७१
एमाओवादीले आफ्नो धारणा कुटनीतिज्ञलाई जानकारी गराउने
कांग्रेस एमालेलगायतका ४ दलले संविधान निर्माणको अवस्था र आफ्नो प्रस्तावबारे नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको एक सातामै एमाओवादी लगायतका दलहरुले पनि संविधान निर्माणबारे आफ्नो धारणा विदेशी कुटनीतिज्ञहरुलाई जानकारी गराउने भएका छन् ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदबारमा ३ मंसीरमा बसेको मोर्चाको बैठकले यही ७ मंसीरमाकुटनीतिक नियोगका प्रमुखलाई आफ्नो धारणा बताउने निर्णय गरेको हो । यसअघि एमाओवादीले कांग्रेस–एमालेको कुटनीतिज्ञसँगको भेटमा आपत्ति प्रकट गरेको थियो ।
सहमतिमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुको साटो सत्तारुढ दलहरुले एकलौटी ढङ्गले बहुमतको आधारमा अगाडि बढाउन खोजेको भन्दै बैठकले आपत्ति प्रकट गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले ६ मंसीरमा बुद्धिजीवी, नागरिक समाजका अगुवा, सञ्चारकर्मीसँग छलफल गर्ने र ८ मंसीरमा पत्रकार सम्मेलन मार्फत संविधान निर्माणबारे मोर्चाको धारणा सार्वजनिक गर्ने निर्णय समेत बैठकले गरेको जानकारी दिए ।
