समाचारबिहीबार, मंसिर ४, २०७१
जाजरकोट बस दुर्घटना (अपडेट)
करिब ५० जना यात्रु बोकेर जाजरकोटबाट सुर्खेततर्फ जाँदै गर्दा भेरी नदीमा खसेको बसका ५ जना यात्रुको शव फेला परेको छ भने बस अहिलेसम्म भेटिएको छैन ।
दुई पुरुष, दुई महिला र एक बालकको शव फेला परेको घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक दिनेश मैनालीले बताए । उनका अनुसार घाइते १० जनालाई उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ ।
नदीमा डुबेकाे बस अझै फेला परेको छैन । बाँकी सवै यात्रुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
—————————————————————————————————————————————————–
भेरी नदीमा बस खस्यो
करिब ५० जना यात्रु बोकेर जाजरकोटबाट सुर्खेततर्फ जाँदै गरेको बस ४ मंसीर विहान ८ बजे भुरचौर नजिक भेरी नदीमा खसेको छ।
हिमालखबर
जाजरकोटको खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस जाजरकोट छिन्चु सडकखण्डको भुरचौर नजिक भेरी नदीमा खसेको छ । बसमा ४५ देखि ५० जनासम्म यात्रु रहेको जाजरकोटका निमित्त जिल्ला प्रमुख अधिकारी शिवराज सेंढाईले जानकारी दिए ।
“४५ देखि ५० जना यात्रु बसमा रहेको र त्यसमध्ये ४ जनामात्रै बाहिर भेटिएको खबर आएको छ, ठूलै हताहती भएको हुनसक्छ,” सेढाइले भने ।
घटनास्थल सदरमुकाम खलंगादेखि २० किलोमिटर टाढा छ ।
घटनास्थलमा स्थानीयले उद्दार गरिरहेको साथै स्थानीय प्रहरी, सशस्त्र प्रहरी र चौरजहारीबाट सेना समेत खटाइएको उनले जानकारी दिए ।
“म पनि एम्बुलेन्समा घटनास्थलतर्फ जाँदै छु, भर्खरै आधाबाटो मात्रै आइपुगेकाले सबै विवरण पाउन सकेको छैन,” सेढाइले भने, “स्वास्थ्यकर्मी समेत लिएर जाँदैछु ।”
