समाचारबिहीबार, मंसिर ४, २०७१
सेवाग्राही कार्यालय १२ घण्टा खुल्ने
सरकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने सरकारी कार्यालय १२ घण्टा खुल्ला राख्ने निर्णय गरेको छ । ४ मंसीरमा बसेको मन्त्रिपरिषद बैठकले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालय बिहान ६ बजे देखि साँझ ६ बजेसम्म खुल्ला राख्ने निर्णय गरेको हो ।
बैठकले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानीसहितका कार्यालयबाट बिहान ६ देखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसका लागि सम्बन्धित मन्त्रालयले मंसीर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गर्ने र त्यससम्बन्धी गृहकार्य पूरा भएपछि सेवा आरम्भ हुने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
यस्तै, सरकारले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजीवन मासिक रु.२५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले न्याय सेवाका तीन जना अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापना गर्ने निर्णय समेत गरेको छ । बढुवा हुनेहरूमा रञ्जनकृष्ण अर्याल, राजेन्द्र सुवेदी र बद्रीप्रसाद गौतम छन् ।
सरकारले दाइजोको नाममा जिउँदै जलाइएकी रिहानारोश धपाली र चन्द्राचन्दन सलवानीलाई राहत रु.एक–एक लाख प्रदान गर्ने निर्णय गरेको रिजालले जानकारी दिए ।
बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा मोहन चौधरीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।
रासस
