समाचारशुक्रबार, मंसिर ५, २०७१
खोटाङमा जीप दुर्घटना: घाइतेलाई सेनाकाे हेलीकप्टरबाट काठमाडाैं ल्याइयाे
बालाचतुर्दशीका बेला खोटाङको हलेसी महादेव दर्शन गरेर फर्किरहेका यात्रु बोकेको मे १ ज ७३२ नम्बरको जीप दुर्छिम गाविसको गौरी भीरमा ५ मंसीर बिहान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
जीप दुर्घटनामा सिन्धुली लाङपाङटार–४ का ६५ वर्षीया पुर्णमायाँ मगर, ३७ वर्षीय चन्द्रमायाँ कार्की, ४५ वर्षीय चन्दमाया तामाङ, ओखलढुंगा च्यानम–२ का ५६ वर्षीय टंक राया, नुवाकोट पञ्चकन्याका ३८ वर्षीय रोबहादुर पण्डित र ३३ वर्षिय सरस्वती पण्डितको ज्यान गएको खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताए ।
दुर्घटनामा सिन्धुली लाम्पाङटार–४ का ६० वर्षीय टेकबहादुर मगर, ६५ वर्षीया पुर्णमायाँ मगर, ७ वर्षीय आशिष मगर, ३४ वर्षीय सनबहादुर मगर, २८ वर्षीय मञ्जु भण्डारी, ३८ वर्षीय शम्भु विश्वकर्मा, २६ वर्षीय चेतबहादुर रमौली, लाम्पाङटार–३ का २८ वर्षीय चित्रबहादुर रमौली र काठमाण्डौं कपनका १३ वर्षीय सिम्रम पण्डित घाइते बनेका छन् ।
तीव्र गतिको जीप सडकमा भएको खाल्डो छलेर बाटो पार गर्ने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा घाइते बनेका ९ जनालाई उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरबाट काठमाण्डौंको टिचिङ अस्पताल ल्याइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए ।
जीप गौरी भीरको साँधुरो सडकबाट करिव सात सय मिटर तल खसेको थियो । घाइतेहरुलाई जीपबाट उछिट्टिएर पाखामा छरपस्ट अवस्थामा उद्धार गरिएको स्थानीय रसकुमार राईले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । मृतकको शवलाई हलेसीस्थित हेलीप्याडमा राखिएको छ ।
दुर्घटनामा सकुशल रहेका जीपका चालक कौशल बिश्वकर्मा च्यास्मीटार प्रहरी चौकीको नियन्त्रणमा छन् ।
