समाचारशनिबार, मंसिर ६, २०७१
बाह्रविघामा भाषण गर्ने गरी मोदी जनकपुर आउने
यसअघि सुरक्षा र अन्य कारण देखाउँदै सरकारले जनकपुरको जानकी मन्दिर परिषरभित्रै सानो कार्यक्रमको आयोजना गरेर मोदीलाई अभिनन्दन र नागरिक सम्बोधनको व्यवस्था मिलाएकोमा असन्तुष्ट भारतीय पक्षले मोदीको जनकपुर, लुम्बिनी र मुस्ताङको कार्यक्रम रद्द गरेको अनौपचारिक जानकारी दिएको थियो ।
मोदीको काठमाडौं बाहिरको सबै भ्रमण रद्द भएपछि कुटनीतिक क्षेत्रमै असर पर्ने हो कि भनेर अत्तालिएको सरकारका प्रधानमन्त्री सुशील कोइराला आफैंले भारतीय पक्षसँग कुरा गरी उनको स्वागत र सम्बोधनको कार्यक्रम जनकपुरको बाह्रविघा मैदानमै गरिने भन्दै भ्रमण रद्द नगर्न आग्रह गरेपछि मोदी-भ्रमण अब रद्द नहुने करिब करिब पक्का भएको छ ।
अहिले जनकपुरको बाह्रविघा मैदानमा मञ्च निर्माणको कार्य भइरहेको छ भने त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३ हजार सुरक्षाकर्मी तैनाथ छन् । बाह्र विघा मैदान जनकपुर नगरपालिका भित्रको सबैभन्दा ठूलो खुल्ला चौर हो ।
“भारतीय प्रधानमन्त्रीको भ्रमण कायमै राख्न हामीले अनुरोध गरेका छौं र बाह्र विघामा कार्यक्रमको तयारी हुँदैछ,” मोदीको स्वागतको जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्रले भने, जसले ४ मंसीर दिउँसो विज्ञप्ति जारी गर्दै मोदीको जनकपुर भ्रमण रद्द भएको सार्वजनिक गरेका थिए ।
४ मंसीरमा जनकपुर र लुम्बिनीमा मोदीसँगै आउने पाहुनाहरुका लागि भारतीय पक्षले गरेको होटेल बुकिङ रद्द गरे लगत्तै मोदीको नआउने खबर जनकपुरमा फैलिएको थियो । त्यसबेला काठमाडौं आइपुगेका मन्त्री निधिले परराष्ट्रमन्त्रालयका भारत डेस्क हेर्ने सह–सचिव अमृतकुमार राई र भारतीय दूतावासका डीसीएम पियुष श्रीवास्तावलाई फोन सम्पर्क गर्दा उनीहरुले पनि मोदीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको जानकारी दिएको मन्त्री निधि बताउँछन् ।
उनले भ्रमण रद्द भएको सार्वजनिक गर्दा पनि भारतीय दूतावाससँग कुरा गरेर मात्रै सार्वजनिक गरिएको बताएका छन् ।
त्यसै दिन बेलुका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि काठमाडौंका केही सञ्चारमाध्यमका सम्पादकहरुसँग होटेल साँग्रिलामा भएको भेटघाटामा मोदीको काठमाडौं बाहिरका सबै भ्रमणहरु करिब करिब रद्द भइसकेको बताएका थिए ।
सुरक्षाका कारणले नभई भारतमा जारी विधानसभा निर्वाचनले मोदीको व्यस्तता बढाएकाले उनको भ्रमण रद्द भएको हुनसक्ने आफ्नो बुझाइरहेको समेत बताएका मन्त्री पाण्डेले ५ मंसीर साँझ पत्रकार सम्मेलन गरेरै मोदीको भ्रमण रद्द भएको बारे आफूलाई कुनै जानकारी नभएको र जनकपुरमा तयारी जारी रहेको बताएका थिए ।
यता भारतीय राजदूत रञ्जित रेले पनि प्रधानमन्त्रीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको बारे आफूलाई थाहा नभएको र रद्द हुनुपर्ने कुनै कारण नभएको बताएका थिए ।
बाह्र विघा मैदानबाट मोदीले सार्वजनिक सम्बोधन गर्ने, छात्राहरुलाई साइकल वितरण गर्ने लगायतका कुरा चर्चामा आएपछि विभिन्न राजनीतिक दल र नेताहरुले त्यसको विरोध गरेका थिए भने गृहमन्त्री वामदेव गौतमले जानकी मन्दिर परिषरभित्रै मोदीलाई अभिनन्दन गरिने कार्यक्रम मिलाएको र उनले सार्वजनिक भाषण र साइकल बाँड्ने जस्ता काम नगर्नेे बताएका थिए ।
मोदी भ्रमणको कार्यक्रमबीच अन्यौल र समस्या नेपालका राजनीतिक दलको हचुवा व्यवहार र अपरिपक्व कुटनीतिको परिमाण भएको पूर्व कुटनीतिज्ञ भेषबहादुर थापा बताउँछन् ।
उनले भने, “देशमा जति नै ठूलो विवाद भएपनि कुटनीति र विदेश नीतिको मामिलामा संयमित भएर राजनीतिक नेतृत्व प्रस्तुत हुनुपर्नेमा हाम्रा नेताहरु भने विभाजित भए यसले नै समस्या ल्याएको हो ।”
