समाचारशनिबार, मंसिर ६, २०७१

यस्तो छ सार्कका अतिथिको स्वागत कार्यक्रम

हिमालखबर

SAARCसार्क शिखर सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, मालदिभ्सका अब्दुल्ला यामिन अब्दुल गैयुम र श्रीलङ्काका महिन्द राजपक्ष आआफ्ना मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ९ मंसीरमा काठमाडौं आउँदैछन् ।

त्यसैगरी बंगलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्रदामोदरदास मोदी र नवाज सरिफ पनि शिखर सम्मेलनमा भाग लिन ९ मंसीरमै काठमाडौं आउने कार्यक्रम छ । शिखर सम्मेलन आयोजक मुलुक नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि सरकार प्रमुख हुन् ।

सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुख तथा प्रथम महिलालाई शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत वा नियोग प्रमुखले विमानमा नै पुगेर स्वागत गर्ने र मोटरबाट ओर्लेपछि उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का एक सदस्य, मुख्य सचिव र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वागत टोलीमा राष्ट्रपति कार्यालयका सचिवलाई पनि समावेश गरिएको छ ।

स्वागतपछि उपप्रधानमन्त्रीले विशिष्ट पाहुनालाई प्रधानसेनापतिसँग परिचय गराउनेछन् । परिचयपछि प्रधानसेनापतिले सम्मान गारत अर्पण गरिने विशेष मञ्चमा उनीहरुलाई लैजाने र मङ्गल धुनसँगै सम्मान गारत प्रस्तुत गरिने कार्यक्रम छ । विशिष्ट पाहुनाको देशको राष्ट्रिय गीत बजाएपछि नेपालको राष्ट्रिय गीत प्रस्तुत हुनेछ ।

त्यसपछि अतिथिलाई उपप्रधानमन्त्रीले अतिविशिष्ट कक्षमा लैजाने र सामान्य शिष्टाचारपछि सोल्टी होटलतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

विमानस्थलदेखि सोल्टी होटलसम्म विभिन्न स्थानमा राष्ट्रिय झन्डा फहराउने, परम्परागत बाजा बजाएर अभिवादन गर्ने र विभिन्न झाँकी प्रस्तुत हुने कार्यक्रम छ ।

सोल्टी होटलको विशिष्ट सुइटमा प्रवेश गर्नुअघि सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई शिक्षामन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधा ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>