समाचारमंगलबार, मंसिर ९, २०७१
मोदी चारवटा सैनिक विमानसहित काठमाडौंमा
१८ औं सार्क सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष विमानमार्फत काठमाडौं आइपुगेका छन् ।
चारवटा विमानसँगै काठमाडौं आएका मोदीलाई उपप्रधानमन्त्री बामदेव गौतमले स्वागत गरे भने नेपाली सेनाले सलामी अर्पण गरेको छ ।
मोदीको विशेष विमानभन्दा पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको एउटा विमानले मोदी काठमाडौं छँदा चढ्ने गाडी र सुरक्षा उपकरण ल्याएको छ ।
अन्य दुई विमान भने मोदी चढेको विमानलाई आकासमा स्कर्टिङ गर्दै आएका भारतीय सेनाका विमान हुन् ।
नेपाल आउनुअघि उनले नेपालसँगको सम्बन्ध विषेश रहेको उल्लेख गरेका छन् ।
उनले ४ महीनाको अवधिमा दोस्रो भ्रमण हुनुले दुई देशबीचको सम्बन्ध विशेष रहेको देखाएको उल्लेख गरेका छन् । उनी अहिले दिउँसो सवा ३ बजेभित्र नेपाल आइपुग्ने छन् ।
आज के–के गर्दैछन् मोदी
भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट सोल्टी होटल जानेछन् । सोल्टीमा केही बेर आराम गरेपछि उनी वीर अस्तापल परिषरमा रहेको ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण गर्नेछन् । भारतको सहयोगमा ट्रमा सेन्टरको निर्माण ६ वर्षअघि निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री सुशील कोइरालालाई ट्रमा सेन्टर हस्तान्तरण गरेपछि सैनिक मञ्चमा नेपाली सेनाका लागि हेलीकप्टरको साँचो हस्तान्तरण र दिल्ली–काठमाडौं सिधा बस सेवाको उद्घाटन र ललितपुर भ्रमण सकेर अरुण तेस्रोको पीडीए हस्ताक्षर कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
