समाचारबुधबार, मंसिर १०, २०७१
प्रधानमन्त्री कोइराला द्विपक्षीय भेटघाटमा ब्यस्त
सार्कका विशिष्ट पाहुनाहरू रहेको होटल सोल्टीमा पुगेर प्रधानमन्त्री सुशील कोइरालाले सार्क सदस्य राष्ट्रका राष्ट्रपति प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
दक्षिण एशियाली मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँगको भेटवार्ता शिखर सम्मेलनको नियमित प्रक्रिया हो । यस्तो भेटघाटले दुई देशबीचको सम्बन्धलाई नवीकरण गर्न र आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्छ ।
यसक्रममा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशका राष्ट्रपति शेख हसिना, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष र मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
भेटवार्तामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्व उपप्रधानमन्त्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागीलगायत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए ।
