समाचारबिहीबार, मंसिर ११, २०७१
सार्क नेताहरु धुलिखेलमा
११ मंसीर बिहान काठमाडौंबाट ३० किलोमिटर पूर्व धुलिखेल भट्टेडाँडास्थित द्वारिकाज होटेलमा सार्कका विशिष्ट अतिथिहरु रिट्रिट (विश्राम र अनौपचारिक कुराकानी) का लागि पुगेका छन् ।
रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आकर्षणका रुपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।
रिट्रिटलाई एकआपसमा द्विपक्षीय समस्याका बारेमा छलफल गर्ने अवसरका रुपमा पनि लिइन्छ ।
सार्क नेताहरु त्रिभूवन विमानस्थलबाट होलिकोप्टरमार्फत धूलिखेल पुगेका हुन् । ‘रिट्रिट’बाट फर्केपछि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सार्क समापन समारोह हुनेछ ।
रिट्रिटका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफबीच पनि कुराकानी हुने अनुमान गरिएको छ ।
धूलिखेलमा प्रधानमन्त्री सुशील कोइरालाले पाहुनाहरुलाई स्वागत गरेका थिए ।
सार्क समापन समारोहमा १८ औं सार्क घोषणापत्र पनि जारी हुनेछ ।
आजै साँझ सार्क नेताहरुलाई राष्ट्रपति रामवरण यादवले शीतलनिवासमा रात्रिभोज दिनेछन् ।


