समाचारबिहीबार, मंसिर ११, २०७१
सार्क: अधिकांश अतिथि आजै फर्कने (तस्वीरसहित)
विहान साढे ८ बजे होटल सोल्टीबाट धुलिखेलका लागि निक्लेका सार्क राष्ट्र तथा सरकार प्रमुखहरु अनौपचारिक वार्ता र दिउँसोको भोजन गरेर काठमाडौं फर्किएका छन् ।
सार्क राष्ट्र तथा सरकारका प्रमुखहरुलाई विश्राम र अनौपचारिक कुराकानीका लागि वातावरण बनाउनका लागि ‘रिट्रिट’ मा जाने प्रचलन छ ।
‘रिट्रिट’ बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना भने अनुपस्थित रहिन् । उनको स्वास्थ्यमा समस्या आएका कारण त्यहाँ जान नसकेको बुझिएको छ ।
सार्क सम्मेलनको समापन सत्र अपराह्न ४ बजेदेखि शुरु हुँदैछ । उक्त सत्रमा घोषणपत्र पनि जारी हुनेछ ।
त्यसपछि सार्कका विशिष्ट अतिथिहरु राष्ट्रपतिले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन शीतलनिवास पुग्ने छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी आफ्नै विशेष विमानबाट ११ मंसीरमै स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीन अब्दुल गयुम कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै स्वदेश फर्कने तयारीमा छन्।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना १२ मंसीरमा काठमाडौं–ढाकाको नियमित उडानबाट स्वदेश फर्कने छन् भने भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे पनि काठमाडौं–थिम्पुको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
सबै तस्वीरहरु: भारतीय विदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्धिनको ट्विटरबाट
