थप समाचारशुक्रबार, मंसिर १२, २०७१
युवती लिएर भारत जाँदै गरेका झा पक्राउ
महोत्तरीको नैन्ही गाविस–२ बस्ने २१ वर्षीय प्रदीप झाले नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने झुटो प्रलोभन दिएर काठमाडौं घर भएकी युवतीलाई भारततर्फ बेच्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिएका छन् ।
महोत्तरीको मूल भन्सार कार्यालय भिट्ठामोड हुँदै भारत लैजान लागेको अवस्थामा ११ मंसीरमा सीमा सुरक्षामा खटेका नेपाल प्रहरीका नायब निरीक्षक पृथी खत्रीको नेतृत्वका टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बेचबिखन गर्ने उद्देश्यले युवतीलाई भारत लैजान लागेका झामाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेको छ । ती युवतीलाई निजको परिवारजनलाई जिम्मा लगाउन काठमाडौं खबर गरिसकेको प्रहरीले जनाएको छ ।
रासस
