थप समाचारशुक्रबार, मंसिर १२, २०७१
गढीमाई मेलामा बलि शुरु (तेह्र तस्वीर)
–श्याम गुप्ता, बारा
आस्थाकी देवी माता गढीमाईको विधिवत पूजा र आराधानापछि पञ्चबलि दिएसँगै गढीमाई मेलामा बलि शुरु भएको छ । १२ मंसीर बिहानदेखि बलि शुरु भएको हो ।
सत्रौं शताब्दीमा हत्या अभियोगमा भीमफेदी कारागारमा रहेका बरियारपुरका भगवान दास थारुले भगवतीको भाकल गरी गाँउमा त्रिशुल स्थापना गरेपछि उनी कैदमुक्त भएको र त्यसपछि मन्दिर स्थापना गरी पूजा र बलि दिने परम्परा चलेको लोकोक्ति छ । गढीमाईमा अहिले पनि दासकै खलकका मंगल चौधरी पुजारी छन् ।
बलि दिने तिथि भन्दा एक दिन अगावै गढीमाई (भगवतीे) को तान्त्रिक विधिद्वारा भगवानदास थारुका सन्ततीको घरमा पूजा–अर्चना हुन्छ । घरमा पूजा–अर्चनापछि मध्यरातमा सात जना महिलालाई शृंगार गरी गढीमाई मन्दिर छेउमा रहेको ब्रम्हस्थानको पूजा गरिन्छ ।
पूजापछि गढीमाईलाई पञ्च बलि दिएर बलि आरम्भ गर्नेे परम्परा छ । त्यसक्रममा दुःखा धामीले आफ्नो शरीरको पाँच भागबाट रगत निकाली रगतको बलि पनि दिने गर्छन् । त्योसँगै जंगली सेतो मुसा, परेवा, कुखुरा, हाँस, सुंगुरको बलि दिने गरिन्छ ।
गढीमाईलाई भाकेका पशुपंक्षीको बलि दिनाले मनोकांक्षा पूर्ण हुने जनविश्वास छ । मेलामा नेपालसहित छिमेकी देशका दर्शनार्थीको घुइँचो छ ।
