समाचारशनिबार, मंसिर १३, २०७१
संस्कृतिकर्मी प्रधानाङ्गको निधन
पोखरामा शास्त्रीय सङ्गित र भैरव नृत्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएका संस्कृतिकर्मी सर्वज्ञमान प्रधानाङ्गको १०० वर्षको उमेरमा १३ मंसीरमा निधन भएको छ ।
विसं २०११ मा पोखरा उद्योग वाणिज्य सङ्घ स्थापना गर्दा संस्थापक कोषाध्यक्ष रहेका प्रधनाङ्गले २०१५ देखि २०१७ सालसम्म सङ्घको अध्यक्षको कार्यभार पनि सम्हालेका थिए ।
भैरव नृत्यका बेला गाइने गीतका गायक (रागी), ढोलक (खिन) का वाद्यवादक रहेका उनले नै असङ्गठित रुपले आयोजना गरिने भैरव नृत्यलाई संस्थागत बनाएका हुन् ।
भक्ति सङ्गीत, नाच र उद्योगी÷व्यवसायीको नेतामात्र नभएर उनी स्वतन्त्रता सेनानी पनि थिए । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार २००७ सालको क्रान्तिमा होमिएर उनले नेपाली प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका थिए ।
उनकै सक्रियतामा २०२९ सालमा पोखरामा भैरव सांस्कृतिक संरक्षण समिति गठन भयो भने उनले आफ्नो र श्रीमतीका नाममा सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार स्थापना गरी सांस्कृतिक उत्थानमा पनि ठूलो योगदान दिएका छन् ।
विसं १९७१ मा पोखराको भैरवटोलमा जन्मेका प्रधानाङ्गका तीन छोरा, दुई छोरी छन् ।
