समाचारसोमबार, मंसिर १५, २०७१

गोली हानेर बैंक लुट्ने पूर्व माओवादी लडाकु पक्राउ

हिमालखबर

माधव बराल, पोखरा

बैंक लुट्ने मुख्य योजनाकार सुशीलकुमार दुलाल । तस्वीरः माधव बराल,पोखरा

बैंक लुट्ने मुख्य योजनाकार सुशीलकुमार दुलाल । तस्वीरः माधव बराल,पोखरा

यति डेभलपमेण्ट बैंक पोखराका तत्कालीन कर्मचारी भगवान बराललाई पोखराको न्यूरोडमा गोली हानेर दिन दहाडै रकम लुट्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार मुख्य योजनाकार सुशीलकुमार दुलाललाई १४ मंसीरमा पोखराको लेकसाइडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामाले जानकारी दिए ।

पोखराको न्यूरोडस्थित मेघा बचत तथा ऋण सहकारीबाट यति डेभलपमेण्ट बैंकमा रकम डिपोजिट गर्न लैजाने क्रममा बैंक कर्मचारी बराललाई १२ बैशाखमा गोली हानी रकम लुटेर दुलालको टोली फरार भएको थियो । पक्राउ परेकालाई १५ मंसीरमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

घटनामा संलग्न अरु तीन जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा संलग्न पाँच जना पुर्व माओवादी लडाकु हुन् ।

मुख्य योजनाकार दुलालसँगै लुटपाटमा प्रयोग भएको नाइन एमएम क्यालिवरको जर्मनीमा बनेको पेस्तोल थान १, पेस्तोलको म्यागजिन १, पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र ४ लाख ४१ हजार ५०० नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै, उनीबाट ६ थान मोबाइल, विभिन्न बैंकका तीन वटा एटीएम कार्ड, यमाहा कम्पनीको स्कुटर, सुनको औंठी र दुलालको नाममा २० असारमा भएको सात लाखको राष्ट्रिय बाणिज्य बैंकको चेक, एसबीआई बैंकका दस्तखत गरिएका तीन वटा खाली चेक पनि बरामद भएको छ ।

एसपी लामाका अनुसार घटनामा संलग्न रहेका नारायण राईलाई पनि रौतहट प्रहरीले पक्राउ गरेको छ । ३ मंसीरमा रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआइ बैंक लुटपाटमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।

एसबीआई बैंकमा पनि यही समूहले लुटपाट गरेको प्रहरीको ठहर छ । रौतहटमा राई पक्राउ परेपछि कास्की प्रहरीले दुलाललाई समात्न सफल भएको हो ।

पोखरा न्यूरोडमा प्रयोग भएको हतियार देखाएर रौतहटको बैंकमा लुटपाट गरेको प्रहरीले बताएको छ । मेघा सहकारीबाट रकम यति बैंकमा डिपोजिट लैजान सहकारीबाट बाहिर निष्कने बित्तिकै लुटेराको समुहले बरालको टाउकोमा एक राउण्ड गोली प्रहार गरेर सुरक्षा गार्ड गोविन्द थापासँग भएको रु.३१ लाख ४२ हजार लुटेका थिए ।

प्रहरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ कप्तान टोल घर भई हाल पोखराको न्यूरोडमा सान फर्निचर शोरुम संचालन गर्ने ३३ वर्षीय सुशीलकुमार दुलालले सहकारी लुट्ने योजना बनाएका थिए । दुलाल द्धन्द्धको समयमा माओवादीको मेडिकल टीममा काम गरेको र अखिल क्रान्तिकारी रौतहटको पूर्व अध्यक्ष थिए ।

घटनामा रोल्पाको घोडागाउँ गाविस १ बस्ने पूर्व माओवादी लडाकु विजय केसी, रुकुम घर भई दाङ बस्ने पुर्व माओवादी लडाकु बसन्त गिरी र सल्यान घर भएका पूर्व माआवादी लडाकु उज्वल रोकाय क्षेत्रीय पनि संलग्न रहेको लामाले जानकारी दिए । तीनै जना अझै फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>