समाचारमंगलबार, मंसिर १६, २०७१
संविधान निर्माणमा एमाओवादीकै अवरोधः पौडेल
–पवन पौडेल
कांग्रेस उपसभापति पौडेलले संविधान जारी गर्न एमाओवादी बाधक रहेको आरोप लगाएका हुन् । तनहूँको दमौलीमा १६ मंसीरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, “कांग्रेस–एमाले सहमतिकै पक्षमा छ, तर सहमतिका लागि एमाओवादी नै बाधक बनिरहेको छ ।”
उनले संविधान आउन नदिन एमाओवादीले अनेक प्रयास गरिरहेको पनि आरोप लगाए । “एमाओवादीको यस्तै बखेडा गरिरहे अन्तिम अवस्थामा बहुमतकै आधारमा संविधान जारी हुन्छ,” उनले भने ।
सहमतिका लागि कुदा समय नै बितिरहेको भन्दै उनले सहमति नभए पनि प्रक्रिया छोट्याएर ८ माघमै संविधान जारी हुने दाबी गरे ।
कार्यक्रममा उनले वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएको नेत्रबिक्रम चन्दको समूहले लोकतन्त्र मास्ने षडयन्त्र गरिरहेको बताए । उनले एउटा माओवादी संविधानसभामा बसेर र अर्को समूह बाहिर बसेर लोकतन्त्र सिध्याउने खेल भइरहेको पनि टिप्पणी गरे ।

