समाचारमंगलबार, मंसिर १६, २०७१
प्रक्रियामा जान सबै तयार हुनुपर्छ: प्रम कोइराला
२३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा १६ मंसीरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले आफू संविधान सहमतिमै निर्माण हुनुपर्छ भन्ने पक्षमा रहेको तर सहमति हुन नसके प्रक्रियामा जाने विकल्प खुला रहेको र त्यसका लागि सबै दलहरु तयार रहनुपर्ने बताएका छन् ।
राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायका सबै विषयमा सहमति भएर संविधान जारी गर्दा राम्रो सन्देश जाने भए पनि सहमति भएन भन्दैमा संविधान निर्माण रोक्न नसकिने कोइरालाको भनाई थियो ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्यात्मक हिसाबले संविधान नबनाउन दिएको सुझावलाई आफूले सकारात्मक रुपमा लिएको र सहमति जुटाउन निरन्तर प्रयास गरिरहेको पनि बताएका थिए ।
कोइरालाले भने, “ निरन्तरको प्रयासका बाबजुद पनि सहमति नजुटे प्रक्रियामा गएर संविधान जारी गर्नुपर्छ ।”
दुई तिहाइ बहुमतबाट संविधान जारी गर्न सकिने व्यवस्था पनि सहमतिका आधारमा नै बनाइएकोले प्रक्रियामा जाने कुरालाई कसैले पनि ठूलो ‘इस्यु’ बनाउन नहुने भने ।
उनले दलहरुको प्रतिबद्धता अनुसार ८ माघमै संविधान जारी मुलुकको आर्थिक विकासमा जोड दिनुपर्ने बेला कसैले पनि आन्दोलनको कुरा गर्न नहुनेमा जोड दिए ।
नयाँ संविधानमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका हक अधिकार सुनिश्चित गरिने भएकाले अब अधिकार प्राप्तिका लागि कसैले आन्दोलन गर्नु पर्ने आवश्यकता नरहेको बताएका थिए ।
