थप समाचारबुधबार, मंसिर १७, २०७१
गाउँका ‘भगवान’
यति बेला दुई नेपाली डाक्टर कुमुद धि
ताल र नूतन प्रसाई अन्तर्राष्ट्रिय चर्चामा छन्– मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा प्रत्यारोपण गरेको र कृत्रिम रक्तनली बनाउने प्रविधि विकास गर्ने टोलीमा रहेका कारण। यता, बझाङ जिल्लामा भने दुर्गम ठाउँमा अथक् सेवाका कारण एक सामान्य स्वास्थ्यकर्मी मानव राना चर्चित छन्। तिब्बतसँग जोडिएको बझाङको यो हिमाली गाविसमा कार्यरत तराईका थारू स्वास्थ्यकर्मीबारे काँडा–५ का पदम बोहरा भन्छन्, “उहाँ नभएको भए चार छोराछोरीसँगै मलाई झाडापखालाले लगिसकेको हुन्थ्यो।”
मानवलाई एउटा सच्चा डाक्टर मात्र होइन, कालबाट जोगाउने ‘भगवान’ मान्नेहरू काँडामा धेरै भेटिन्छन्। तराईको कञ्चनपुरका मानव एक वर्षअघि काँडा पुग्दा यो मान्छे धेरै दिन अडिने छैन भनेर अनुमान लगाउने धेरै थिए। तर, उनी अडिएनन् मात्र, स्वास्थ्य समस्यामा परेका गाउँलेको सेवामा पूरै समर्पित भएर आफ्नो असुविधा बिर्सिए। उनी महेन्द्रनगरको फारवेस्ट स्कूल अफ मेडिसिनबाट स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) कोर्ष सकेलगत्तै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर काँडा स्वास्थ्य चौकी पुगेका थिए। “त्यो बेला स्वास्थ्य चौकीमा भोटेताल्चा लागिरहेको जिल्ला सदरमुकाम चैनपुरमै सुनें”, मानव भन्छन्, “अनि तीन भारी औषधि लिएर आएँ, त्यसयता यतै छु।”
त्यो बेला चैनपुरबाट चार दिन हिंडेर पुगिने काँडासम्म औषधि ल्याउने भरिया खोज्न उनले सोर्सफोर्स नै लगाउनु परेको थियो। सिंढी समेत चढ्नु नपर्ने तराईमा जन्मेहुर्केका यी ‘डाक्टर’ आफैंलाई पाँच दिनमा गन्तव्यमा पुग्दा मर्न आएँ कि भनेजस्तो लागेको थियो। “यतिका मान्छे बाँचेकै छन् भने मलाई मात्रै के पो होला र भन्ने सोच्दै बसें”, मानव सम्झ्न्छन्, “त्यसपछि त यहाँका मान्छेका दुःख–सुखमा सहभागी हुँदाहुँदै बानी पारिहालें।”
एक लाख ६७ हजार जनसंख्या भएको बझाङको एक नगरपालिका (जयपृथ्वी) र ४२ गाविसमध्ये काँडामा २६ सय मानिसको बसोबास छ। काँडाको क्षेत्रफल भने १ हजार ४६४ वर्गकिलोमीटर छ। जबकि, बझाङको कुल ३ हजार ४२२ वर्गकिलोमीटर हो। यहाँको मुख्य खान्की उवा, फापर र आलु हो। उकाली–ओराली नगरी नहुने यो ठाउँमा भातको गाँस हाल्न र तराईमा रहेका परिवारसँग फोनमा बात मार्न ठूलै अवसर कुर्नुपर्छ, मानवलाई। “तर, उपचार गर्दागर्दै यहाँका मान्छेहरूसँग घुलमिल हुँदै गएँ, माया बस्दै गयो”, मानव भन्छन्, “अब त बाहिरको मान्छे हुँ जस्तो पनि लाग्दैन।”
काँडाका स्वास्थ्यकर्मीले ‘टेन टु फाइभ ड्यूटी’ गर्छु भनेर चल्दैन। जनसंख्या थोरै भए पनि बिरामी संख्या धेरै हुन्छ यहाँ। त्यसमाथि, स्वास्थ्य चौकी आउने होइन, डाक्टरलाई डाक्ने चलन छ। निमोनिया, झाडापखाल, आउँ, ज्वरो आदिका बिरामी र सुत्केरी बेथा लागेकाहरूलाई हेर्न टाढा–टाढा गइरहनुपर्छ। “त्यस्ता बिरामीलाई हेरिदेऊ भन्दै बोलाउन आएपछि म त इन्चार्ज हुँ भनेर नजाने कुरा पनि भएन”, मानव भन्छन्, “त्यसैले पर्सनल डाक्टर जस्तो भएर कहिले यो गाउँ त कहिले त्यो गाउँको घरघरै पुगिरहेको हुन्छु, एकबाट अर्को गाउँ पुग्न पूरै एक दिन लाग्छ।”
बोलाउने मान्छे कहिले राति १२ बजे त कहिले बिहान ४ बजे आइपुग्छन्। मानव यसरी दुई–तीन महीना गाउँगाउँमै पुगेर उपचार गर्छन् अनि घरमा फोन गर्न र खर्चबर्च पठाउन सदरमुकाम र्झ्छन्। अनि फेरि तीन–चार भारी औषधि लिएर काँडातिर उक्लन्छन्। ‘मानव डाक्टर साहेब’ आएपछि हेल्थपोष्टमा औषधि सकिएको सुन्नु नपरेको बताउँदै काँडा–५ का पदम बोहरा भन्छन्, “हाम्रा लागि उहाँ भगवानभन्दा कम हुनुहुन्न।”
बच्चु विक
साप्ताहिक खबरपत्रिका हिमालबाट
