समाचारबिहीबार, आश्विन २५, २०६९
अपहरित कांग्रेस कार्यकर्ताको उद्दार
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले उनीहरुलाई अपहरण गरिएको ठाँउ कल्पवृक्ष गाविसको मथौलीबाट उद्दार गरेको हो । झडपपछि अपहरणमा परेका सबै घाईते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अपहरण मुक्त तरुण दलका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, सिन्धुली जिल्ला कार्यसमिति सदस्य कान्छामान वल, गाविस इकाई सभापति प्रकाश कार्कीसहित कार्यकर्ताहरु अमर घलान, दिलिप अधिकारी र गणेश थापाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने कान्छामान वलको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौ ल्याइएको छ । त्यस्तै मथौलीमै भएको झडपमा घाईते कांग्रेसका अर्का कार्यकर्ता पवन मगरलाई पनि काठमाडौं ल्याइएको छ ।
मथौलीमा घटना भएलगत्तै कांग्रेस र माओवादीबीच सदरमुकाममा भएको झडपमा ६ जना घाईते भएका छन् । माओवादीका तीन र कांग्रेसका तीन जना कार्यकर्ता घाईते भएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले भने पवन मगर, पुजन पोखरेल, मीनकुमार देवकोटा, छेसाङ लामा लगायत दर्जनौँ माओवादीको प्रहारबाट गम्भीर घाइते भएको जनाएको छ ।
घाइते मध्ये पवन मगरलाई अस्पतालमा भर्ना गर्न लागेका बेला अस्पतालभित्रै सुरक्षाकर्मीले निर्मम तवरले घाइते अवस्थामै कुटपिट गरेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले विज्ञप्ति निकालेर शान्तिपूर्ण र्याली गरिरहेका आफ्ना कार्यकर्ताहरुलाई एकीकृत माओवादीले सांघातिक आक्रमण गरी घाइते बनाएको र अपहरण गरेको भन्दै हिंस्रक र गैर राजनीतिक प्रकृतिका घटनाहरु पुनः नदोहोर्याउन चेतावनी दिएको छ । त्यसैगरी विज्ञप्तिमा सुरक्षाकर्मीले नेपाली कांग्रेसको जिल्ला कार्यालय अगाडि हवाई फायर गरेको र सुरक्षाकर्मीको संरक्षणमा एनेकपा माओवादीका कार्यकर्ताहरु हातहतियार सहित खुल्लेआम हिडेर आम नागरिकलाई आतंकित पार्ने काम गरेको आरोप लगाइएको छ ।
श्रेष्ठ र बललगायतका कांग्रेस कार्यकर्ता सम्पर्कविहिन भएको भए पनि आफूहरुले अपहरण नगरेको एमाओवादीले जनाएको छ ।
