समाचारशनिबार, मंसिर २०, २०७१

‘मधेशी दलहरुलाई कुरेर एमाले बस्दैन’

हिमालखबर

प्रमुख सत्तारुढ दलहरुले तराई केन्द्रित दलहरुलाई सत्तामा ल्याउने प्रयत्न जारी राखेको भनिए पनि तराइ केन्द्रित दल तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरले आफूहरु तत्काल सरकारमा नजाने बताएका छन्।

केही दिनयता तराई केन्द्रित दलहरुलाई सरकारमा ल्याउने प्रयत्नमा रहेका भनिएका दलमध्ये एक सत्तारुढ नेकपा एमालेले उनीहरु सरकारमा नआउने भए अब नकुर्ने बताएको छ।

दुई पटक भएका छलफलहरुपछि एमाले नेताहरुको यस्तो भनाइ आएको हो।

तराई केन्द्रित दलहरुले भने संविधान जारी भएपछि मात्र सरकारमा जाने विषयमा सोच्ने बताएका छन्।

प्रयास

संविधान जारी गर्नका निम्ति सहमति निर्माणमा सहजता थपिन सक्ने आशामा भन्दै एमालेले तराई केन्द्रित दलहरुलाई सरकारमा ल्याउन प्रयास जारी राखेको जनाएको छ।

तर सरकारमा नजाने अडान दोहोर्याए अब उनीहरुलाई पर्खेर समय खेर नफाली संविधान निर्माणमा आफुहरु केन्द्रित हुने एमाले उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन्।

उनी भन्छन्, “संविधान निर्माणको कामलाई छायाँमा पार्ने गरी सरकार विस्तारको काम हुँदैन। आउँदैनन् भने संविधान निर्माणको काम छँदैछ। त्यसैमा लाग्नुपर्छ। उहाँहरु आउनुहुन्न भने सकिहाल्यो।”

यद्यपि ती दलहरु सरकारमा सामेल हुने सम्भावना अझै टरी नसकेको ज्ञवालीले संकेत गरे।

आरोप
संयुक्त सरकार निर्माणको लागि बोलाइएको बैठकहरुमा उनीहरु सहभागी हुँदै आएकोले सरकारमा आउने कुरा सकारात्मक रुपमा अघि बढिरहेको उनको भनाई छ।

तर आफुहरु संविधान जारी हुनुअघि कुनै पनि हालतमा सरकारमा नजाने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बताउँछन्।

उनले भने, “संविधान नबनुन्जेल सम्म सरकारमा हामी जाँदैनौं। संविधान जारी गरीसकेपछि उहाँहरुलाई हाम्रो आवश्यकता पर्यो भने हेरौंला।”

ती दलहरुले संविधान निर्माणमा आफ्ना धारणाहरुलाई बलियो पार्ने भन्दै झण्डै डेढ हप्ताअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः ब्युँताएका थिए।

बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>