समाचारआइतबार, मंसिर २१, २०७१
‘सँगै हिड्छन् तर, बोल्दैनन् ओली’
-सइन्द्र राई
काठमाडौंमा सम्पन्न नवौं महाधिवेशन (१९ असार–१ साउन) मा प्यानलगत मतदान गराएर अध्यक्ष बनेका केपी ओली यतिखेर एमालेका शक्तिशाली कमाण्डर बनेका छन् । महाधिवेशन सकिएको पाँच महीनासम्म पनि जिम्मेवारी वाँडफाँड नभएपछि उनले पार्टीको सांठानिक र वैचारिक नेतृत्व एक्लै हाँक्दै छन् ।
यतिका लामो समय जिम्मेवारी वाँडफाँड नगरेर एक्लै पार्टी चलाउन खोजेको आरोप लगाइदै आएको ओलीलाई मुलतः नयाँ संविधानका अन्तरवस्तुमा आधिकारिक धारणा विपरीत मनपरी गरेको भन्दै आफ्नै समूहका कार्यकर्ताले समेत असन्तुष्टि जनाउन थालिएकाे छ । केन्द्रीय कमिटी बैठक नबोलाइएपछि औपचारिक फोरमका रुपमा बस्ने गरेको संसदीय दलको बैठक पनि औपचारिकतामा मात्रै सीमित हुन थालेको सभासद पीके राई बताउँछन् ।
संसदीय दलको बैठकमा पनि आफूले चाहेजस्तो निर्णय नहुने देख्नासाथ बिनाकारण स्थगित गराउने ओलीको शैलीले उनी अझैं पार्टी अध्यक्ष नभई गुटकै नेताको भूमिकामा रहेको माधव नेपाल पक्षबाट निर्वाचित केन्द्रीय सदस्य यज्ञराज सुनुवार आरोप लगाउँछन् । उनी भन्छन्, ‘‘अध्यक्ष भएपछि आलोचना सुन्नसक्ने क्षमता हुनुपथ्र्यो, तर ओलीमा त्यस्तो गुण देख्न सकिएन ।’’ ओली पक्षबाट सचिव निर्वाचित पृथ्वीसुब्बा गुरुङ भने यो कुरामा सहमत छैनन् । उनी भन्छन्, ‘‘अध्यक्षले रणनीतिक रुपमा संघीयताबारे बोलेको विषयलाई लिएर बबण्डर मच्चाउँदा पार्टी राम्ररी चल्न सक्दैन ।’’
पार्टी धारणा विपरीत ४ प्रदेशको संघीयता, आयोगबाट प्रदेश निर्धारण र अन्तर दलीय बैठकहरु छाडेर हिड्ने ओलीको प्रवृत्तिले पार्टी नै संविधान निर्माणप्रति उदासिन रहेकोे सन्देश गएको भन्दै अध्यक्षको चर्काे आलोचना हुने गरेको सभासद राई बताउँछन् । स्थायी कमिटी र पोलिटब्यूरोमा आफ्नो समूहको बर्चस्व बढाउन खोज्ने ओली र नेपाल पक्षको स्वार्थले पटक–पटक स्थगित हुँदै आएको तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक आगामी २२ मंसीरमा हुनेमा पनि केन्द्रीय सदस्यहरु विश्वस्त छैनन् ।
आफ्नालाई काखा
केन्द्रीय कमिटी बैठक बस्न नसके पनि एमालेको जिल्ला अधिवेशन भने धमाधम भई रहेको छ । दशैं तिहारपछि मात्रै ७ जिल्लाको अधिवेशन सकियो । यी अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष ओली नै पुग्ने गरेका छन् ।
ओली कार्यक्रममा सँगै गएका आफ्नो समूह बाहेकका अन्य पदाधिकारी नै भए पनि नबोल्ने गरेको पदाधिकारीहरु बताउँछन् । सचिव योगेश भट्टराई भन्छन्, ‘‘मञ्चमा सँगै बस्छौं, आ–आफ्नो पालोमा भाषण गर्छाै, उहाँ हामीसँग बोल्नु हुन्न ।’’ यसले ओली अझै गुटकै नेतामा सीमित छन् भन्ने प्रमाणित हुने भट्टराईको दाबी छ ।
पार्टीभित्रै ओली आफ्नालाई काखा र अर्कालाई पाखा गर्ने गरेको तथ्य बुटवलमा १७ मंसीरमा पार्टीको मुखपत्र नवयुगको रजत जयन्ती कार्यक्रमले देखाएको नेपाल पक्षका एक नेता बताउँछन् । आफ्नो प्यानलका आधा दर्जन नेताहरूसहित हेलीकप्टरमा वुटवल गएका ओलीले त्यही कार्यक्रममा जान लागेका उपमहासचिव घनश्याम भूसाल र सचिव गोकर्ण विष्टलाई ‘लिफ्ट’ दिएनन् ।
वुटवलकै स्थानीय तथा वैचारिक नेता मानिने भूसाल र एमालेभित्र रुचाइएका तथा सवै भन्दा बढी मतले निर्वाचित नेता विष्टको खोजी हुँदा उक्त रहष्य खुलेको थियो । भूसाल र विष्टलाई ठाउँ छैन भनिएको हेलीकप्टरमा जुनियर नेताहरुसहित ओली वुटवल पुगेका थिए ।
अल्पमतमा ओली
सामान्य मत अन्तरले अध्यक्ष जितेका ओलीलाई महाधिवेशनका बेला प्राय जिल्ला अध्यक्षहरूले साथ दिएका थिए । तर, पछिल्लो नजिताले ओलीलाई पछाडि देखाएको छ ।
अहिलेसम्म सम्पन्न ७ जिल्ला अधिवेशन मध्ये ओली प्यानलबाट एक जनाले मात्रै जितेका छन् । दैलेख बाहेक अन्य जिल्लामा नेपाल पक्ष हावी भएको छ । दैलेखमा रविन्द्र शर्मा अध्यक्षमा निर्वाचित भए पनि अन्य पदाधिकारीसहित ४५ जना नेपाल पक्ष र १५ जना ओली पक्षबाट निर्वाचित भए ।
धु्रव शाही सुर्खेत, करवीर शाही जाजरकोट, अशोक कोइराला बाँके, कमल राय यादव रौटहट, राम राना इलाम, वलबहादुर साम्सुहाङ ताप्लेजुङको अध्यक्ष नेपाल प्यानलबाट निर्वाचित भएका छन् ।
महाधिवेशनपछि सवै जिल्लामा प्यानल अनुसारको मतदानबाटै अधिवेशन गरिंदै आएकोमा २१ मंसीरमा निर्धारण गरिएको पर्वत जिल्ला अधिवेशन भने रोकिएको छ । केन्द्रीय कार्यालयबाट पार्टी सचिव पृथ्वीसुब्बा गुरुङले पत्र पठाएपछि अधिवेशन रोकिएको हो ।
