थप समाचारआइतबार, मंसिर २१, २०७१

शुरु भयो भब्य जनश्रमदान– देशावर (तस्वीरसहित)

हिमालखबर

d1हरेक वर्ष झैं यसवर्ष पनि कैलालीका १० हजार किसानको करिव एक महिना कर्णाली नदी किनारमा बित्नेछ । कोही कुलो खन्न व्यस्त छन् भने कोही खाना पकाउनमा जुटेका छन् । कसैलाई पिउने पानीको जोहो गर्न मै दिन वित्छ ।

विक्रम सम्वत १९५३ मा रानी पदमकुमारी शाहले सिचाइँका लागि रानी कुलो खन्न लगाएकी थिईन् । रानीले खन्न लगाएकै कारण कुलाको नाम रानी कुलो राखिएको बुढापाकाहरु बताउँछन् । त्यसैबेलादेखि कुलो मर्मत सम्भारका लागि वर्षेनी सामूहिक रुपमा जुट्ने परम्परा अहिलेसम्म कायम नै छ ।

d2अहिले कैलालीको पू्र्वी क्षेत्रका दुई नगरपालिका र सात गाविसका महिला, विद्यार्थी समेत गरेर करिव १० हजार बासिन्दा देशावरमा जुटेका छन् ।

जिल्लाको टीकापुर र लम्की चुहा नगरपालिकाका साथै पथरैया, दुर्गौली, मुनुवा, धनसिंहपुर, नारायणपुर, जानकीनगर र प्रतापपुर गाविसका किसानहरु चिसापानीमा कुलो खन्ने कार्यमा व्यस्त छन् ।

हरेक गाउँका बडघर (गाउँका मुखिया) ले आफ्नो गाउँका जनताले काम गर्ने क्षेत्र निर्धारण गर्छन् र उनकै निर्देशनमा काम गर्नुपर्ने हुन्छ ।

d3देशावरको सबै व्यवस्थापन किसानहरु आफैले गर्नुपर्ने हुन्छ । तर देशावर जाने कुराको निक्र्यौल भने रानी, जमरा र कुलरीया गरी तीन कुलाको छाता समिति ‘मुल कुला समिति’ ले गर्छ ।

“यतिबेला कुलो खनेपछि त्यसले फागुन महिनामा धानको ब्याडराख्दा सम्म सिँचाई गर्न मिल्छ,” मुल कुला समितिका कोषाध्यक्ष दामोदर खड्काले भने ।

d4देशावरमा सबै समूदायको सहभागिता हुन्छ । “करिव २० किलोमिटर लामो कुलो खनेर पानी खेतमा पु¥याउनु साँच्चै पहाड फोड्नु जस्तै हो,” कोषाध्यक्ष खड्काले भने ।

तत्कालीन सरकारले २०४४ सालमा चितवनमा आयोजना गरेको वृहत गोष्ठीमा देशावर जाने कार्यलाई एशियाकै सबैभन्दा ठूलो जनश्रमदान भनेर परिभाषित गरिएको मुल कुला समितिका उपाध्यक्ष चौधरी बताउँछन् ।

d6त्यस्तै उनीहरुकै भनाई अनुसार जमरा कुलो विक्रम सम्वत १९६० मा ढुण्डीराज शाही र कुलरीया कुलो विक्रम सम्वत १९७२ मा मधु र कन्हैया महतौले खन्न लगाएका थिए । यी तीन वटा कुलाको पानीले हाल सात गाविस र दुई नगरपालिकाको करिव १४ हजार हेक्टर भुभाग सिञ्चित गर्ने गरेको छ ।

d5

कर्णाली पुल

वर्षेनी हिउँदमा खनेपछि वर्खामा विग्रने यी तीन कुलालाई ब्यवस्थित गर्न सरकारले रानी–जमरा–कुलरीया सिचाइँ आयोजना २०६६ सालदेखि शुरु गरे पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । सिचाइँ आयोजनाले जिल्लाको ४४ हजार हेक्टर भुभाग सिञ्चित गर्ने लक्ष्य राखेको छ ।

शब्द/तस्वीरः दीपक उपाध्याय

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>