समाचारसोमबार, मंसिर २२, २०७१
कांग्रेसले सभासद् दुर्घटनाबारे छानबिन गर्ने
उपचारको क्रममा मृत्यु भएका सभादस् हरि खड्काको दुर्घटनाबारे छानबिन गर्न कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा २२ मंसीरमा बसेको आकस्मिक केन्द्रीय बैठकले एक उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित समितिको सदस्यमा रोमी गौचन थकाली र कमल पंगेनी छन् । समितिले घटनाको छानबिन गरी केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् खड्का १७ मंसीरमा जीप दुर्घटनामा परेका थिए । धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा प्राथमिक उपचारपछि काठमाडौंको न्यूरो अस्पतालमा उपचारको क्रममा उनको २१ मंसीर साँझ निधन भएको थियो ।
यस्तै, कांग्रेसले सभासद् खड्काको निधनमा शोक मनाउने भएको छ । मुख्य सचिव तिवारीले २३ मंसीरमा केन्द्रीय कार्यालय बन्द गर्ने र पार्टीको झण्डा एकदिन आधा झुकाउने निर्णय भएको जानकारी दिए ।
सम्बन्धित समाचारः
सभासद् दुर्घटनाबारे छानबिन समिति गठन
