समाचारसोमबार, मंसिर २२, २०७१
कार्यसूचीमा प्रवेश नगरी एमाले बैठक स्थगित
मध्यान्ह १२ बजे बोलाइएको बैठक दुई बजे मात्रै सुरु भएको थियो । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष केपी ओलीले मन्तव्य राखेपछि २४ मंसीर दिउँसोसम्मलाई स्थगित गरिएको छ ।
उद्घाटन मन्तव्य लगत्तै अरू कार्यक्रममा जानुपर्ने भन्दै अध्यक्षले बैठक स्थगित गरिएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन् । उनले अध्यक्ष कुन बैठकमा जानुपर्नेबारे भने नखुलाएको बताइन् ।
‘२०४७ कै संविधान अपडेट’
उद्घाटन मन्तव्यमा अध्यक्ष ओलीले देशलाई संविधानविहिन बनाउन नहुने भन्दै २०४७ सालकै संविधान अपडेट गरेर भएपनि ८ माघमै संविधान जारी गर्नुपर्ने बताए ।
उनले संविधानसभालाई खाली बनाउन नहुने भएकाले जुनसुकै हालतमा संविधान जारी गर्नुपर्ने बताए । एक घण्टा लामो भाषणमा ओलीले मिलेका विषयलाई समेटेर भएपनि संविधान जारी गर्नुपर्ने बताए ।
उनले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिबाट आएको प्रतिवेदन अव सम्वाद समितिमा पुनः नपठाउने बताए ।
—————————————————————————————————————————————————
एमाले बैठक दुई घण्टापछि सुरू
एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण कमिटी बैठक निर्धारित समय भन्दा दुई घण्टापछि सुरु भएको छ ।
१२ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली ढिलो आएपछि दुई घण्टा पछि सुरु भएको केन्द्रीय सदस्य रामकुमार झाँक्रीले बताइन् ।
—————————————————————————————————————————————————-
एमाले बैठक बस्दै
तीन महीनादेखि सर्दै आएको एमाले तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक आज मध्यान्हदेखि मुख्यालयमा बस्दैछ ।
स्थायी र पोलिटब्यूरो गठन, जिम्मेवारी वाँडफाँडलगायत विषयमा सहमति जुट्न नसक्दा बैठक पटक–पटक सर्दै आएको छ । समूहगत निर्वाचनमार्फत सम्पन्न महाधिवेशनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका प्रत्यासी तथा पूर्व महासचिव माधवकुमार नेपाल पक्षधरबीच कुरा नमिल्दा बैठक नै सार्नुपर्ने अवस्था सृजना हुँदै आएको छ ।
बैठक बस्नुपूर्व २१ मंसीरमा बैठकको अजेण्डा तय गर्न बोलाइएको पदाधिकारी बैठकले पनि कुनै सहमति जुटाउन नसकेकाले २२ मंसीरको केन्द्रीय कमिटी बैठक पनि अन्यौलमै रहेको नेता बेदुराम भूसालले बताए ।
उनका अनुसार अहिले मुख्यालयमा केन्द्रिय सदस्यहरु आउने क्रम जारी छ ।
