समाचारसोमबार, मंसिर २२, २०७१
नक्कली पैसाले गहना किन्ने पक्राउ
–देविका घर्ती मगर, दाङ
नक्कली पैसा बनाएर ठगी गर्ने दाङ नारायणपुर–९ बुटनियाका १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंमा पक्राउ परेका उनलाई २२ मंसीरमा पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको छ ।
तुलसीपुर नगरपालिका–५ पिपलबोटस्थित भिमबहादुर सुनारले सञ्चालन गरेको विजय सुनचाँदी पसलबाट ९ मंसीरमा रु.१ लाख ५१ हजार रुपैयाँमा सुनका विभिन्न गरगहना खरिद गरेका उनी फरार थिए ।
उनले ४४३६४२ नम्बरको रु. ५०० को एकै नोटलाई स्क्यान गरेर बनाएको तीन बण्डल रकमले सुन खरिद गरेको प्रहरीको भनाइ छ । उनले नक्कली नोटको बण्डललाई रु.१८ हजार बराबर ५०० को नोटले बाहिरबाट छोपेका थिए ।
उनलाई महाराजगञ्ज प्रहरी बृत महाराजगञ्जको टोलीले १८ मंसीरमा पक्राउ गरेको थियो । उनको साथबाट सुनका दुई थान मंगलसुत्र, दुई थान औंठी र दुई जोर कानको झालर बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठोरले जानकारी दिए ।
राठोरका अनुसार उनको घरबाट एक थान ल्यापटप, १ थान फोटोकपी मेशिन, प्रिन्टर पेपर, फोटो पेपर, प्रिन्टिर पेपरमा छापिएको रु.५०० दरका नक्कली नोटका २० थान समेत बरामद भएको छ ।


