समाचारशुक्रबार, आश्विन २६, २०६९
दुईसय तोला सुन र लाखौं लुट्नेहरु पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्वतले कास्की प्रहरीको सहयोगमा पोखराका विभिन्न स्थानबाट पक्राउ गरेका चारजना लुटेराहरुलाई २६ असोजमा सार्वजनिक गरेको हो । घटनामा संलग्न दुईजना भने अँझै फरार रहेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले असोज १२ गते राति पर्वत चित्रे–७ की पवित्रा गुरुङको घरबाट सुन र नगद लुटपाट गरेका थिए । उनीहरुले पोखरामा रहेको देउराली सुनचाँदी पसलमा २२ तोला सुन रु नौ लाखमा बिक्री गरेको पाइएको छ ।
सार्वजनिक गरेका अभियुक्तहरुमा स्याङ्जा फेदीखोलाका ४७ वर्षीय वीरबहादुर विक, गुल्मी दुबिचौरका ४२ वर्षीय रामबहादुर खड्का, म्याग्दी ओखरबोटका ३० वर्षीय रशबहादुर घर्तीमगर, रोल्पा थवाङका २० वर्षीय सविन बुढा छन् । उनीहरु सबै पोखरामा बस्दै आएका थिए ।
दाङ हापुरेका जीवन बुढामगर र म्याग्दी ओखरबोटका रेशम घर्तीमगर भने फरार रहेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरु पेसेवर अपराधी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले स्याङ्जा, कास्की, र तनहुँलगायतका जिल्लामा लुटपाट र हत्या जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सविन बुढा वाइसिएलका कार्यकर्ता हुन् । उनी लामो समय पर्वतमा बसेका कारण गुरुङका घरमा रहेको सम्पत्तिबारे जानकार रहेको र लुटपाटको योजना बनाएको हुन सक्ने बताइएको छ ।
रशबहादुर घर्ती ज्यानमार्ने उद्योग मुद्दामा सजाय भुक्तान गरेका अपराधी हुन् । वीरबहादुर विश्वकर्मा घरजग्गा दलाली र श्याम खड्का डलर काण्डमा परेका अपराधी रहेको बताइएको छ । रासस
