समाचारबुधबार, मंसिर २४, २०७१
‘सार्कका बेला बनेका संरचनाको सुरक्षा गर्नु’
संसद अन्तर्गतको विकास समितिको २३ मंसीरमा बसेको बैठकले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) को १८ औं शिखर सम्मेलनको क्रममा निर्माण गरिएका भौतिक पूर्वाधारको उचित संरक्षण गरी तन्दुरुस्त हालतमा राख्न शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई समेत निर्देश गरेको सभापति रविन्द्र अधिकारीले जानकारी दिएका छन् ।
सार्क सम्मेलनको क्रममा काठमाडौँको मुख्य तथा सहायक सडकहरू मर्मत सम्भार गरिएको, सौर्य बत्ती जडान गरिएको, यथेस्ट सङ्ख्यामा बिरुवा रोपिएका छन् ।
राष्ट्रिय सभा गृह, सिंहदरबार भित्रको ग्यालरी बैठकको संरक्षण र सम्वद्र्धन गर्न र आवश्यक व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै समितिले कुनै पनि वहानामा छुट नदिन समेत आग्रह गरेको छ ।
सार्क सम्मेलनको क्रममा निर्माण भएका भौतिक पूर्वाधारमा राज्यको लगानी समेत भएको, धेरै पक्षको मेहनत परेको भन्दै समितिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रतिनिधिले संसदीय समितिको निर्देशनअनुसार ध्यान दिने वचनवद्धता व्यक्त गरेका थिए ।
बैठकमा गृह मन्त्रालयका सचिव सूर्य सिलवालले भौतिक संरचनाको संरक्षण गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न मन्त्रालय र प्रहरी प्रशासन तयार रहेको विश्वास दिलाए ।
शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले निर्माण भएका भौतिक संरचनाको संरक्षण गर्दै थप संरचना निर्माणका लागि मन्त्रालय प्रयत्नशील रहेको बताए ।
