समाचारबुधबार, मंसिर २४, २०७१
भ्यान र ट्रक एकआपसमा ठोकिँदा महिलाको मृत्यु, पाँच घाइते
२४ मंसीर विहान सिरहाको भगवानपुरमा म्याजिक भ्यान र ट्रक एकआपसमा ठोक्किंदा भ्यानमा सवार एक महिलाको मृत्यु भएको छ भने तीन महिलासहित ५ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वासुदेव यादवका अनुसार ना.१ज ३३१ नम्बरको म्याजिक भ्यान र ना.३ख ८७९४ नम्बरको ट्रक एकआपसमा ठोकिएर भएको दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेकी अन्दाजी ६५ वर्षीया एक महिलाको मृत्युभएको हो । महिलाको शवपरीक्षणका लागि लहान अस्पतालमा राखिएको छ ।
दुर्घटनामा धनगढी–२ का बालचन्द्र मुखिया, सोही ठाउँका निसु सिंह, धनगढी–३ का नथुनिया सदाय, मिर्चैया–२ का जितनीदेवी साह र सोही ठाउँका रुबिदेवी साह गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार लहान अस्पतालमा भइरहेको छ ।
दुर्घटनाग्रस्त ट्रक र भ्यानसहित दुवैका चालकलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।
