समाचारशुक्रबार, आश्विन २६, २०६९
संविधानसभा ब्यूँताउन दिइन्नः नेतृ भण्डारी
रिपोर्टर्स क्लब नेपालले २६ असोजमा आयोजना गरेको साक्षात्कारमा नेतृ भण्डारीले निर्वाचन मात्र अहिले मुलुककालागि निर्विकल्प विकल्प भएको बताइन् । “मुलुकलाई फेरि पछाडि फर्काउने सोच व्यबहार र षडयन्त्रलाई परास्त पारेर मुलुकलाई अग्रगमन तिर बढाउनेमा एमालेको भूमिका हुन्छ ।” उनले भनिन्, “महादेवले जस्तो सति देवीको सिनो बोक्दै हिंडेर केही हुने वाला छैन ।”
भण्डारीले पछिल्लो समयमा पुनःस्थापनाका लागि चलाइएको अभियानलाई भाइरल ज्वरो भन्दै यसले देशलाई अनिर्णयको बन्दी बनाउने तथा प्रजातान्त्रिक मुल्य र मान्यतामाथि कुठाराघात गर्ने बताइन् । एमाओवादी नेतृत्वले जनता अल्मल्याउन संविधान सभा ब्यूँताउने कुरा ल्याएको उनको दाबी थियो ।
सहमतिको सरकार निर्माण गरेर निर्वाचनमा जानु नै निकासको सर्वाेत्तम उपाय भएको नेतृ भण्डारीको ठहर छ ।
तिहारअघि पुनःस्थापनाः पौडेल
साक्षात्कारका अर्का सहभागी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले तिहार अघिनै संविधानसभा पुनःस्थापना हुने दावी गरेका छन् ।
राष्ट्रपतिले दिएको समयावधि असोज मसान्तसम्म सहमतिको मार्ग चित्र तयार हुने दाबी गर्दै पौडेलले तिहार अघि नै पुनःस्थापनामा सहमति बन्ने बताए ।
सरकारले अध्यादेश ल्याईरहने, राष्ट्रपतिले अस्विकार गरिरहने अनि दलहरुवीच सहमति पनि नबन्ने अवस्थाले कहीं पनि नपुगिने भन्दै संविधान सभाको पुनःस्थापना नै निकासको कम जोखिमपूर्ण सूत्र भएको ठोकुवा गरे ।
