समाचारबुधबार, मंसिर २४, २०७१
‘बन्दुक र ट्याङ्क किन्न सजिलो, किताव गाह्रो किन ?’
पाकिस्तानकी १७ वर्षीया मलाला युसुफजाई र भारतका ६० वर्षीय कैलाश सत्यार्थीलाई नर्वेका राजा हराल्ड पाँचौको उपस्थितिमा नोबल कमिटीका अध्यक्ष थोरबजर्न जागल्यान्डले नोबल पुरस्कार प्रदान गरेका छन् ।
सत्यार्थीले समारोहलाई सम्बोधन गर्दै आफ्नो जीवनको उद्देश्य प्रत्येका बालबालिकालाई मुक्त बनाउनु रहेको बताए ।
“प्रत्येक बालबालिकालाई हुर्किन, ठूलो हुनका लागि स्वतन्त्रता चाहिन्छ । आफ्नै खुशीले हाँस्ने र रुनका लागि स्वतन्त्रता चाहिन्छ,” उनले भने, “हामी अज्ञानताबाट ज्ञानका तर्फ, अन्धकारबाट उज्यालोतर्फ अघि बढ्नु पर्छ ।”
पुरस्कार प्राप्त गरेपछि मलालाले भनिन्, “भारतीय र पाकिस्तानी सँगै मिलेर काम गर्न सक्छन, यो बालअधिकारको कामले स्पष्ट हुन्छ ।”
उनले प्रश्न गरिन्, “अहिले विभिन्न देशका सरकारहरुलाई बन्दुक र ट्याङ्क किन्न सजिलो तर बालबालिकालाई किताब दिन किन गाह्रो भएको होला ?”
मलाला र सत्यार्थीले पुरस्कारमा १४ लाख डलर संयुक्त रुपमा प्राप्त गरेका छन् ।
महिला शिक्षाका लागि पैरवी गरेको आरोपमा सन् २०१२ मा तालिबानी आक्रमणबाट टाउकोमा गोली लागेकी १७ वर्षीया मलाला नोबेल पुरस्कार पाउने अहिलेसम्मकै कान्छी हुन् ।
अहिले बेलायतमा बसेर अध्ययन् गरिरहेकी मलालाले नोबल पुरस्कारमा पाएको रकम बालबालिका शिक्षाकै लागि खर्च गर्ने बताएकी छन् ।
मलालालाई ‘अद्भुत किशोरी’ भन्दै सत्यार्थीले उनी अत्यन्तै बहादुर रहेको बताए । “उनी मेरी छोरी जस्तै हुन्, म उनलाई धेरै सम्मान र स्नेह गर्छु,” सत्यार्थीले भने ।
यसवर्षको नोबेल पुरस्कार भारत र पाकिस्तानका दुई नागरिकलाई संयुक्त रुपमा दिइँदा वर्षौदेखि एकआपसमा लडिरहेका दुईदेशमा सकारात्मक सन्देश जाने पनि अनुमान गरिएको छ ।
नोबल पुरस्कार पाउने घोषण भएलगत्तै मलालाले पुरस्कार वितरण समारोहमा पाकिस्तान र भारतका प्रधानमन्त्री पनि सहभागी होउन भन्ने आफूले चाहेको बताएकी थिइन्, तर त्यसो हुन सकेन ।
मेकानिकल इञ्जिनियरिङ पढेका सत्यार्थीले सन् १९८० मा बालश्रम विरुद्ध ‘बचपन बचाओ आन्दोलन’ शुरु गरेपछि थुप्रै शान्तिपूर्ण आन्दोलनहरु चलाएका छन् ।
उनले ३० वर्षभित्र भारतका करिब ८० हजार बालबालिकालाई बालश्रमबाट मुक्त गराएका छन् । सत्यार्थीले भारतीय सर्कसमा बेचिएका नेपाली बालबालिकालाई मुक्त गराउने क्रममा शारीरिक हिंसा पनि ब्यहोरेका थिए ।
पुरस्कार वितरण समारोहमा भारतीय सरोदबादक अमजद अली खान र पाकिस्तानी सुफी गायक राहत फतेह अली खान आफ्नो सांगीतिक प्रस्तुती पनि दिएका थिए ।
प्रधानमन्त्री बन्ने चाहना
पुरस्कार लिनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मलालाले आफू राजनीतिमा जान इच्छुक रहेको बताएकी छन् ।
विश्वका कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चिच नहोउन भन्ने आफूले चाहेको भन्दै मलालाले पाकिस्तानका सबै बालबालिकालाई उत्कृष्ट शिक्षा दिने आफ्नो सपना पूरा गर्न अध्ययनपछि राजनीति गर्ने बताइन् ।
उनले भनिन, “शायद म प्रधानमन्त्री हुनसक्छु, मेरो सपना पूरा गर्न पनि त्यो जरुरी छ ।”
