समाचारशनिबार, मंसिर २७, २०७१

ओली निवासमा एमाले र मधेशी नेताहरुबीच भेटवार्ता

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

वार्तामा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव विष्णु पौडेल, नेता अग्नि खरेल तथा मधेशवादी दलका तर्फबाट मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।

२७ मंसीर बिहान ९ः३० बजे शुरु भएको वार्ता १ः३० बजेतिर सकिएको थियो । ८ माघभित्र सहमतिमा संविधान जारी गर्ने विषयमा दुवै पक्षबीच करिब पाँच घन्टा छलफल भएको थियो ।

वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संविधान निर्माणका क्रममा सहमति हुन नसकेका चारवटै विषयमा बुँदागत रुपमा बृहत् छलफल भएको जानकारी दिए ।

छलफलमा विवादित विषयमा सहमति नजिक पुगेको बताउँदै उनले ८ माघभित्र संविधान जारी हुने विश्वास व्यक्त गरे ।

गच्छदारले भने, “विवादको मुख्य विषय संघीयता हो । सात, आठ वा नौ प्रदेश भन्ने विषयमा दलहरुबीच अब ठूलो अन्तर छैन । मूल मुद्दा सम्बोधन हुनुपर्छ भन्ने कुरा मुख्य हो, यसमा पनि सहमति नजिक पुगेका छौँ ।”

जाति, भाषा, क्षेत्र, भूगोल र संस्कृतिका आधारमा प्रान्तको सङ्ख्या, सीमाङ्कन र नामाङ्कन गर्ने विषयमा भएको छलफल सकारात्मक रहेको उनले बताए ।

न्याय प्रणालीमा दलहरुबीच सहमति भइसकेको र कुनै जटिलता नभएको बताउँदै उनले मिश्रित निर्वाचन प्रणालीमै दलहरुबीच सहमति हुने आशा व्यक्त गरे ।

प्रत्यक्ष र समानुपातिकतर्फ प्रतिशतमा तलमाथि हुनसक्ने भए पनि मिश्रित प्रणाली नै निर्वाचन प्रणाली हुनुपर्ने उनको भनाइ छ ।

“मिश्रित निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा बन्नेछ र राष्ट्रियसभा पूर्ण समानुपातिक हुन्छ, जसमा राष्ट्रिय जीवनका ख्याति प्राप्त र प्रतिनिधित्व हुन नसकेका वर्ग र जातिलाई समेट्नेबारेमा सहमति हुने भएको छ,” गच्छदारले भने ।

संसद्लाई आधार बनाएर राज्यको शासकीय स्वरुप निर्धारण हुनेबारेमा सहमति नजिक पुगेको बताउँदै उनले संसद्बाटै कार्यकारी प्रधानमन्त्री र इलेक्ट्रोरल कलेजबाट राष्ट्रपति बन्ने प्रावधान राख्ने विषयमा सहमति नजिक पुगेको जानकारी दिए ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै एमाले सचिव पौडेलले मधेशवादी दलका नेताहरुसँग सहमति हुन बाँकी भएका विषयमा भएको छलफल निकै सकारात्मक रहेको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>