समाचारसोमबार, मंसिर २९, २०७१
राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचन हुन्छः मन्त्री रिजाल
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले ८ माघमा संविधान जारी भएलगत्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले २९ मंसीर बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “८ माघमा पूर्ण संविधान जारी हुन्छ, त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुनेछ ।”
उनले ८ माघमा पूर्ण संविधान जारी हुने गरी सहमति प्रयास भइरहेको पनि बताए । दोस्रो संविधानसभामा जनताले दिएको दुई तिहाइ मतलाई आधार बनाएर विभिन्न दलसँग सहमति कायम गर्ने बताउँदै उनले जनताको मतका आधारमा संविधानसभाले संविधान निर्माण गर्ने विचार व्यक्त गरे ।
आगामी संविधानमा सबै दलको स्वामित्व होस् भन्ने चाहनाअनुसार सरकार संविधानसभाभित्र र बाहिर रहेका दलसँग वार्ता एवम् सहमति कायम गर्न अन्तिम अवस्थासम्म प्रयत्नशील रहने उनको भनाइ छ । उनले भने, “संविधानसभा बहिष्कार गर्ने राजनीतिक दलले पनि संविधान निर्माणमा सहयोग गर्नुपर्ने खाँचो छ ।”
रासस
