समाचारमंगलबार, पौष १, २०७१
सरकारी कार्यालयमा १२ घण्टे सेवा शुरु
सरकारी सेवा जनतामाझ सहज रुप्मा पुर्याउन १ पुसदेखि पाँचवटै विकास क्षेत्रमा कामको बढी चाप हुने जिल्ला कार्यालयबाट १२ घण्टे सेवा शुरु भएको हो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १ पुस बिहान ६ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही माया मानन्धरलाई नयाँ राहदानी र चेतना महर्जनलाई नागरिकताको प्रतिलिपि प्रदान गर्दै सेवा शुरु भएको घोषणा गरे ।
सरकारले ४ मंसीरमा सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालय १२ घण्टा खुल्ला रहने घोषणा गरेको थियो । कार्यक्रममा मन्त्री पण्डितले सरकारले जनताप्रति उत्तरदायी भएर सहज रूपमा सेवा पुर्याउन बिहान ६ देखि साँझ ६ बजेसम्म बढी भीड हुने कार्यालयबाट १२ घण्टे सेवा सुरु गरेको बताए ।
सहज रूपमा जनतालाई सरकारी सेवा पुर्याउन पूर्वाञ्चलमा मोरङ, मध्यमाञ्चलमा काठमाडौं, पश्चिमाञ्चलमा रूपन्देही, मध्यपश्चिमाञ्चलमा बाँके र सुदूरपश्चिमाञ्चलमा कैलाली जिल्लाका जनताको बढी चाप हुने कार्यालयहरूबाट सेवा शुरु भएको छ ।
रासस
