समाचारमंगलबार, पौष १, २०७१
पाकिस्तानः तालिबानी आक्रमणमा १४० को मृत्यु, अधिकांश स्कुले बालबालिका (अपडेट)

स्कुले नानीहरुको उद्धार गर्दै सेना ।
पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तका मुख्यमन्त्री परवेज खट्टकले पेशावरस्थित ‘आर्मी पब्लिक स्कुलमा’ भएको आतंकवादी आक्रमणमा १४० जनाको मृत्यु भएको र करिब १२२ जना घाइते भएको पुष्टि गरेका छन् ।
विद्यालयमा सेनाको पोषाक लगाएका सात जना आतंकवादी प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको र बम विष्फोट गराई स्कुलमा क्षति पुर्याएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तालिबानीद्वारा मारिएकी छात्राको शव कफिनमा राखेर लैजाँदै उद्धारकर्मी । तस्वीर साभार: टाइम्स अफ इण्डिया
आक्रमणका बेला विद्यालयमा ५०० विद्यार्थी रहेको त्यहाँको सेनाले जनाएको छ जसमध्ये करिब २०० को उद्दार गरिएको छ । कार्वाहीका क्रममा सात जना आतंकवादी पनि मारिएका छन् ।
उद्धार गरिएका एक कर्मचारीले जियो टिभीसँग कुरा गर्दै आतंकवादीहरु करिब ७ जनाको संख्यामा रहेको र उनीहरु प्रत्येक कक्षामा पसेर विद्यार्थीहरुलाई कुटपिट गर्दै गोली हानेको बताए ।
मृत्यु हुनेहरुमा शिक्षक र प्राथमिक उपचारको तालिम दिन पुगेका सेनाका जवानहरु पनि रहेको उनले बताए ।
आक्रमणको सर्वत्र निन्दा
पाकिस्तानी सरकारले देशमा तीन दिन शोकको घोषणाा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आक्रमणको निन्दा गर्दै उद्धार कार्यको आफैं अनुगमन गर्ने बताएका छन् । घटनाको खबर पाएपछि उनी इस्लामावादबाट पेशावर पुगिसकेका छन् भने विपक्षी दलहरुले पनि घटनाको निन्दा गरेका छन् ।

विद्यालबाट उद्धार गरिएका बालबालिका । तस्वीर साभार: एक्सप्रेस ट्रिब्युन
त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पेशावरमा कायरतापूर्ण आतंकवादी आक्रमण’ भन्दै घटनाको निन्दा गरेका छन् । उनले घटनामा आफन्त गुमाउनेहरुको पीडा आफूले अनुभव गरेको भन्दै समवेदनासमेत व्यक्त गरेका छन् ।
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले पनि आक्रमणको निन्दा गर्दै आफन्त गुमाएकाहरुप्रति समवेदना व्यक्त गरेका छन् ।
तालिबानीद्वारा घटनाको जिम्मेवारी
तालिबानी प्रवक्ता ओमार खोरासानीले सञ्चारमाधयमलाई फोन गरेर आक्रमणको जिम्मेवारी लिएका छन् ।
उनले वजिरिस्तान र खैबर पख्तुन ख्वाहमा तालिवानीविरुद्ध सरकारी सेनाले गरेको कारवाहीको बदलामा विद्यालयमा आक्रमण गरेको बताएको ‘द एक्सप्रेस ट्रिब्युन’ जनाएको छ ।
केही महिनायता सेनाको अभियानमा सयौं तालिबानीहरु मारिएका थिए ।




