समाचारबुधबार, पौष २, २०७१
देव गुरुङले भने, ‘मोहनविक्रमको जस्तै हाल भयो’
दिनभरको पार्टी प्रशिक्षण सकेर १ पुस साँझ पार्टी अध्यक्ष मोहन वैद्यको गृह जिल्ला प्यूठानमा नेकपा–माओवादीका सचिव देव गुरुङले भने, “सोचेभन्दा कमजोर भएछौँ ।”
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको समेत गृह जिल्ला रहेको यहाँ उनले पटक/पटक सिंहलाई सम्झँदै उनको पार्टी विभाजन र आफ्नो पार्टी विभाजन उस्तै–उस्तै भएको समेत बताए ।
“जनयुद्धका उपलब्धिलाई बिर्सेर प्रचण्ड, बाबुराम उतै हराउनुभयो”–एनेकपा माओवादीलाई हालसम्मका सबै गल्तीको दोष दिंदै गुरुङले भने, “पदमा बार्गेनिङ नमिलेपछि विप्लव समूहले पार्टी फुटाए ।”
आफूहरुले जनयुद्धको जगमा क्रान्ति गर्ने भन्दै एमाओवादीसँग विभाजन भएको दिनलाई सङ्केत गर्दै उनले पार्टी विभाजन भएपछि सबै समूह सोचेभन्दा कमजोर भएको बताए ।
कार्यकर्ता प्रशिक्षणमा ‘जनयुद्ध’का घटना र विभाजनबाट निरास नहुन आग्रह गरेका सचिव गुरुङले भने, “सबै कमजोर भयौँ, अब त कार्यकर्ताले नै एकताका लागि दबाब दिनुस् ।”
स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा दिनभर झन्डै ५० जनाभन्दा धेरै कार्यकर्तालाई प्रशिक्षण दिँदा आदर्श र पार्टी योजनाबारे प्रशिक्षणका कुरा गरेका गुरुङले साँझपख जिल्लाका सीमित र अग्रज कार्यकर्तासँग खुलेर कुरा गर्दा कमजोर–कमजोर एक हुने समय आएको समेत बताएका थिए ।
“एमाओवादीले जनयुद्धका मुद्दालाई सम्बोधन गर्ने र नेत्रविक्रम चन्दले पदको लोभ त्याग गरे पार्टी एकता हुन्छ,” उनले भने, “अब सबै माओवादीको एकताबिना केही पनि सम्भव छैन ।”
रासस
