समाचारबुधबार, पौष २, २०७१
गुरुदयाल अपहरणमुक्त, अपहरणकारी पक्राउ

अपहरणकारीबाट मुक्त भएका गुरुदयाल महतो । तस्वीर: श्रवणकुमार देव
सप्तरीको पन्सेरा–७ स्थित अमहाबाट एकमहिना अघि अपहरणमा परेका सिरहाको लहानका व्यापारी गुरुदयाल महतो प्रहरीको सहयोगमा भारतको बिहार राज्यको सुपैल कुरिवनबाट अपहरणमुक्त भएका छन् ।
नेपाल प्रहरीको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा उनलाई भारतीय गाउँबाट अपहरणमुक्त गराएको हो ।
२९ कात्तिकमा इटहरीबाट सिरहातर्फ गइरहेका महतोलाई उनी सवार को.१च ६६४१ नम्बरको टाटा सुमोमा बसेका यात्रीले नैे अपहरण गरेका थिए ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश भट्टराईले भारतको सुपौल जिल्लाका प्रहरीको सहयोगमा महतोलाई २ पुष बिहान २ बजे मुक्त गराइएको बताए ।
महतोलाई सुपौलको कुरिवन भन्ने ठाउँको एक घरमा आँखामा पट्टी बाँधेर राखेको अवस्थामा उद्वार गरिएको थियो ।
सप्तरीका डिएसपी केदार ढकालले फोन गरेर फिरौती माग्ने भारतीय मोवाइल नम्बरहरुकै आधारमा अपहरणकारी पत्ता लगाएर ठाउँसम्म पुगेको बताए ।

अपहरणकारी भारतीय नागरिक महेन्द्र महतो । तस्वीर: श्रवणकुमार देव
उनका अनुसार अपहरणकारीले महतोको परिवारसँग रु एक करोड फिरौति माग गर्दै महतोको हत्या गर्ने धम्की दिदैँ आएका थिए ।
पत्रकार सम्मेलनमा अपहरणको मुख्य योजनाकार भनिएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको डुबरबाना निवासी ३९ बर्षीय महेन्द्र महतोलाई समेत सार्वजनिक गरिएको छ ।
नातामा अपहरितका मामा पर्ने महेन्द्र महतोलाई फिरौति लिन भन्दै नेपाल बोलाएर एक साता अघि नै प्रहरीले पक्राउ गरेको थियो ।
अपहरणमा संलग्न महेन्द्रका भाई विरेन्द्रलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै राखेको पनि भट्टराईले जानकारी दिएका छन् ।
श्रवणकुमार देव, राजविराज
