समाचारबिहीबार, पौष ३, २०७१
यातायात मजदुरलाई असर पर्ने गरी सवारी नियमावली लागू हुँदैनः प्रम कोइराला
नेपाल यातायात मजदुर सङ्गठनले सरकारले हालै मात्र सार्वजनिक सवारीसाधनसम्बन्धी नियमावली कार्यान्वयन नगर्न माग गर्दै ३ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका यातायात मजदुरसँग प्रधानमन्त्री सुशील कोइरालाले समग्र यातायात व्यवसायीलाई नै मर्का पर्ने गरी नियमावली लागू नगर्ने बताएका छन् ।
कोइरालाले भने, “यातायात श्रमिकलाई आघात पर्नेगरी नियमावली कार्यान्वयन हुँदैन, सवारी दुर्घटनामा चालकको लापरबाही बढी पाइएकाले यो नियमावली ल्याइएको हो ।”
मादक पदार्थ सेवन गरी चालकले सवारी चलाएका कारण दैनिक सडक दुर्घटना बढ्दै गएको भन्दै उनले सवारीसाधन चालकले बढी सचेत हुनुपर्ने आवश्यकता औँल्याए ।
सरकारले केही दिन अगाडि सार्वजनिक सवारीसाधनका चालकको लाइसेन्स लिन दश कक्षा पास गर्नुपर्ने, २५ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत कुरा समेटिएको नियमावली ल्याएकोप्रति यातायात मजदुरले त्यसको विरोध गर्दै आएका छन् ।
सङ्गठनका महासचिव भीमज्वाला राईले चालकले सवारी चलाउँदा ध्यान दिने र लापर्बाही गरी चालकले सवारी चलाएको पत्ता लागेमा अनुसन्धान गरेर मात्र कारबाही गर्नुपर्ने बताए ।
रासस
