समाचारशुक्रबार, पौष ४, २०७१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
निगमको ४ पुसमा बसेको संचालक समितिको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) को मूल्य घटाउने निर्णय गरेको छ ।
पेट्रोलमा रु.७, डिजेल तथा मट्टितेलमा रु.५.५० र हवाई इन्धनमा रु.१० मूल्य घटाउने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले हिमालखबरलाई जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि पेट्रोलियम पदार्थको भाउ घटाइएको उनको भनाइ छ ।
उनले घटेको नयाँ मूल्य ४ पुस दिउँसो ३ बजेदेखि नै लागू हुने बताए । घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर रु.११६, डिजल तथा मट्टितेलको प्रतिलिटर रु.९२ पर्नेछ ।
यसअघि, पेट्रोलको प्रतिलिटर रु.१२३, डिजल तथा मट्टितेलको प्रतिलिटर साढे ९७ थियो ।
केहीदिन अघि प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटाउन विभागीय मन्त्रालयलाई निर्देशन दिएका थिए । ११ विद्यार्थी संगठनले पनि मूल्य घटाउन भन्दै आयल निगमलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
३ पुसमा ११ विद्यार्थी संगठनसँगको भेटमा प्रधानमन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटेपछि यातायातको भाडा पनि घट्ने बताएका थिए ।
