समाचारआइतबार, पौष ६, २०७१
संघर्षको कार्यक्रम बनाउँदै एमाओवादी मोर्चा
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्ने भएको छ ।
६ पुसमा बसेको मोर्चाको बेठकले संघर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय सैंजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ छन् ।
कार्यदलले ७ पुसमा सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका सदस्य तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बताए ।
मोर्चाले ६ पुसमै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर मोर्चामा भएका छलफलका बारेमा अवगत गराउने र संविधानसभामा रहेका विवादका प्रतिवेदनलाई पुनः संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नै पठाउनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अध्यक्ष सिंहले बताए ।
