समाचारसोमबार, पौष ७, २०७१
आन्दोलनले रोक्दैन संविधानः गौतम

पत्रकार महासंघ प्यूठानले ७ पुसमा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री वामदेव गौतम । तस्वीरः विजयसिंह भारती
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले संविधान जारी गर्न आन्दोलनले नरोक्ने बताएका छन् । पत्रकार महासंघ प्यूठानले ७ पुसमा गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रियामै गएर पनि संविधान जारी हुने ठोकुवा गरे ।
“कोही–कसैले आन्दोलन गर्नु स्वभाविक हो, तर संविधान जारी गर्न आन्दोलनले रोक्न सक्दैन,” उनले भने । उनले अब प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प नभएको पनि बताए ।
उनले भने, “अब सहमति हुन सकेन भने दुईतिहाइको आधारमा संविधान निर्माण हुन्छ ।” तर, उनले सहमतिका लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
उनले संविधान जारी हुन नसके देश नै असफल हुने बताए । “देशलाई असफल हुन नदिन विपक्षी दलहरु पनि गम्भीर हुनुपर्छ,” उनले भने ।
उनले आन्दोलनमा उत्रिने विरुद्ध प्रशासनले पन्छाउने पनि बताए । उनले भने, “आन्दोलन जो कसैले पनि गर्न पाउँछन्, तर बिगार्ने भत्काउने काममा लागेकालाई प्रशासनले पन्छाउने छ ।”
विजयसिंह भारती, प्यूठान
